नलिन्चोक हेलिपोर्टमा उड्डयन जोखिम सम्बोधनबिनै दबाबमा उडान, पाइलटको आन्दोलन तुहाउने प्रपञ्च



काठमाडौं । भक्तपुरको नलिन्चोक हेलिपोर्टमा उड्डयन जोखिमको सम्बोधनबिना नै केही हेलिकप्टरले उडान गर्न थालेका छन्। उडान सुरक्षामा जोखिम भएको र आवश्यक पूर्वाधार नभएको भन्दै ४७ जना पाइलटले लिखित निवेदन दिँदासमेत नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बोधन नगरेको भन्दै नलिन्चोक हेलिपोर्टमा २७ असारदेखि पाइलटले उडान अवतरण बन्द गरेका थिए ।

पाइलटले हवाई उडान सुरक्षामा जोखिम लिन नसकिने र आवश्यक पूर्वाधार नबनेसम्म उडान गर्ने भन्दै नलिन्चोकबाट हुने हेलिकप्टरको उडान तथा अवतरणको लागि बनाइएको विमानस्थल (हेलिपोर्ट)मा जान बन्द गरे । तर, पाइलटहरुले यो हेलिपोर्टबाट हुने उडान अवतरण जोखिमपूर्ण भएको भन्दाभन्दै र आवश्यक तयारी पूरा नगरिकन उडान गर्न नसकिने भनेको एक सातामै माउन्टेन हेलिकप्टरले गत शुक्रबार एउटा उडान गरेको छ । मंगलबार पनि कैलाश हेलिकप्टरले एउटा उडान गरेको छ ।

मंगलबार कैलाश हेलिकप्टरले नलिन्चोकबाट एउटा उडान गर्न लगाएको हो। व्यवस्थापनले गरेको निर्णयलाई स्वीकार गर्दै हेलिकप्टर उडान गर्न तयार भएको पाइलटहरुले बताएका छन् । पाइलटहरुले नलिन्चोकबाट हुने उडान अवतरणमा समस्या देखाइसकेपछि त्यसको समाधान गरेर र सबै पाइटललाई उड्डयन सुरक्षामा विश्वस्त पारेर मात्रै उडान सुरु गर्नुपर्ने तर्क हेलिकप्टर क्याप्टेनहरुको छ ।

२७ असारबाट उडान नगर्ने निर्णय गरेका हेलिकप्टर पाइलटहरु नै कम्पनीको दबाबमा एकपछि अर्को गर्दै उडान गर्न बाध्य हुन थालेका छन् । हेलिकप्टर कम्पनीलाई भने नियामक निकायले बनाएको हेलिपोर्ट चलाउन आवश्यक पूर्वाधारबिना नै दबाब बढाइरहेको पाइएको छ ।

अहिले हेलिकप्टर कम्पनीका पाइलट सबैले नलिन्चोकबाट हुने उडान अवतरण रोकेका बेला शुक्रबार माउन्टेन हेलिकप्टरको एउटा उडान भएको छ भने मंगलबार कैलाश हेलिकप्टरले पनि उडान गरेको छ । एकातिर पाइलटहरु उडान ठप्प पार्ने अर्कातिर नियामक र कम्पनीको दबाबमा नलिन्चोकमा उडान पनि गर्ने काम भइरहेको छ ।

यो हेलिपोर्टलाई पाइलटहरुले नै सुरक्षित छैन भन्ने अनि पाइलटहरु एकपछि अर्को कम्पनीले नियामकको दबाबमा उडान सुरु गर्नुले हवाई सुरक्षा कमजोर हुने एक हेलिकप्टर क्याप्टेनको भनाइ छ । उनका अनुसार समस्याको समाधान एकमुष्टरुपमा गरेर मात्रै उडान सुरु गरेको भए राम्रो हुने थियो ।

‘नियामक निकाय र सम्बन्धित कम्पनीको दबाबमा उडान गर्दा भोलि आइपर्ने समस्या र जोखिमको विषयमा को जिम्मेवार हुने ?’ ती हेलिकप्टर क्याप्टेनले भने ।

उड्डयन सुरक्षा नभएको हेलिपोर्टमा किन मरिहत्ते ?

नागरिक उड्यन प्राधिकरणले नलिन्चोकमा बनाएको हेलिपोर्टमा उड्यन सुरक्षामा जोखिम भएको निष्कर्ष निकाल्दै हेलिकप्टर पाइलटहरुले २७ साउनदेखि उडान गरेका छैनन् । यो हेलिपोर्टबाट हुने उडान अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै उडान नगर्ने निर्णय गरेका पाइलटले पनि नियामकले कम्पनीलाई र कम्पनीले पाइलटलाई दबाब दिएर उडान गर्न बाध्य पार्न थालिएको गुनासो सम्बन्धित पाइलटहरुले व्यक्त गरिरहेका छन् ।

एक पाइलटले भने ‘प्राधिकरणले पाइलटले सम्बोधन गर्न आग्रह गरेको पूर्वाधारको निर्माण गर्ने विषयलाई बेवास्था गर्दै उड्डयन सुरक्षामा खेलाँची गर्नु र उडान सुरक्षाका संयन्त्रसहितका पूर्वाधारबिना नै उडान गर्नु राम्रो होइन ।’

सुरक्षा जोखिम न्यूनिकरणका लागि प्राधिकरणलाई असार १६ मा लिखितरुपमै विभिन्न हेलिकप्टर कम्पनीका ४७ जना पाइलटहरुले सुझाव दिएका थिए । ती पाइलटहरुको सुझावलाई प्राधिकरणले बेवास्था गरेको छ भने उडान सुरक्षित नभएको विमानस्थलमै किन महिरहत्ते ? एक पाइलटले प्रश्न गरे ।

प्राधिकरणले माउन्टेन हेलिकप्टरमार्त २०८० मंसिर २६ गते नलिन्चोक हेलिपोर्टमा परीक्षण उडान गरेको छ । उक्त उडानपछि प्राधिकरणकै वरिष्ठ पाइलटको टोलीले विमानस्थलको उडान अवतरणमा देखिएका समस्या, अवरोध र उड्डयन सुरक्षामा कमजोरी देखाएका थिए । ती कमजोरीको समाधान नै नभई प्राधिकरणले हतार गरेर नलिन्चोकमा हेलिकप्टर उडानमा दबाब दिएको पनि बरिष्ठ पाइलटहरुले नै तर्क गरिरहेका छन् ।

पाइलटहरुले आवश्यक पूर्वाधार र अत्यावश्यक सेवा नहुँदै हेलिकप्टर उडान बाध्य पारिनुले उड्डयन सुरक्षामै जोखिम भएको भन्दै एकातर्फ आपत्ति जनाएका छन् भने अर्कोतर्फ केही पाइलट भने उडान नै रोक्नु नपर्ने भन्दै नियमित गर्न चाहेका छन् ।
यो हेलिपोर्ट वरिपरी उच्च भू-भागससहितको अवरोधहरु रहेको, कन्ट्रोल टावर नबनेको, फाइनल एप्रोच टेकअफ प्वाइन्ट साँधुरो भएको, पार्किङ क्षेत्र सानो, इन्धन भर्ने सुविधा नभएको, आपतकालीन सेवा अभाव र साघुँरो क्षेत्रमा हेलिपोर्ट भएको कारण उडानयोग्य नभएको हेलिकप्टरका क्याप्टेनहरुको भनाइ छ ।

प्राधिकरणले परीक्षण उडानपछि दिएको एक प्रतिवदेनमा आधारभूत पूर्वाधार पूरा नभएको, हेलिकप्टरको अवतरणमा अवरोध हुने देखिएको, शौचालय नभएको, सुरक्षा नभएको र यात्रु आराम कक्षसमेत नभएको प्रतिवदेन दिएको थियो ।

प्रतिवेदनले हेलिकप्टरको अवतरणका लागि वरिपरका केही ४ तले घरहरुबाट बाधा पुगेको, अवतरणको अप्रोच मार्गमा टावरहरुको अवरोध रहेको, हेलिप्याडको उत्तरतर्फ २० मिटरमै रहेको विद्यालय र पूर्वी तथा दक्षिण क्षेत्रमा हेलिप्याडकै नजिक स्थानीयको घर हुनु, इन्धन भर्ने सुविधा नहुनुसहतिलाई हेलिकप्टरको उाडन अवतरणका निम्ति समस्या भएको औंल्याइएको छ ।
प्राधिकरणकै टोलीले दिएको त्यही प्रतिवदेनमा भएको विषय अहिलेसम्म पूरा नहुनु विडम्बना भएको निजी क्षेत्रका वायुेवाका बरिष्ठ क्याप्टेनले भने ।

उनले भने ‘यी हेलिकप्टर उडानका समस्या कुनै एयलान्सलाई हुने र कुनैलाई नहुने भन्ने होइन ।’

सबै पाइलटको सहमति नभइ उडान गर्न नसकिने निष्कर्ष निकालिएकोले प्राधिकरणले समाधान गर्न सक्ने समस्यालाई सम्बोधन गर्दा उडान गर्न सकिने अवस्थामा र अब निरन्तर उडान गर्ने विषयमा पनि सामूहिक रायकै आधारमा निष्कर्ष निकाल्नुपर्ने उनको तर्क छ ।

मंगलबार नलिन्चोकबाट उडेको कैलाश हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतापजङ्ग पाण्डे समस्याका समाधान गर्दै उडान गर्नुपर्ने भएकोले सुरुवात गरिएको बताउँछन् । पाण्डेले हेलिकप्टर उडान अवतरणमा भएका समस्याको समाधान गर्दै जाने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण प्रतिवद्धता भएकोले कम्पनीले पनि उडान हुन सक्ने ठाउँमा जानुपर्ने निष्कर्ष निकालिएको बताए ।

उनले भने ‘हेलिकप्टको संख्या घटाउने, अल्पकालीन र दीर्घकालीन नीति बनाएर जानुपर्ने मान्यताअनुसार उडान गर्नुपरेको हो । कतिपय नलिन्चोकभन्दा बढी जोखिमका हेलिप्याडमा अवतरण भइरहेको हुन्छ भने त्यहाँ हवाई उड्डयन सुरक्षालाई प्राथमिकतामा राखेर उडान गर्न हाम्रा पाइलट तयार भएका हुन् ।’

पाइलटले उडान गर्न सक्छन् भने अरु दबाब र प्रभावमा पर्नेहरुसँग तुलना गर्ने र सधैं आन्दोलन गरेरै बसिरहनुपर्छ भन्ने पनि नभएको उनको बुझाइ छ ।

त्यसो त २७ असारपछि गत शुक्रबार ५ असारमा एउटा उडान गरेको माउन्टेन हेलिकप्टरका महाप्रवन्धक दिलबहादुर ओली पनि पाइलटको स्कील र कन्फिडेन्टका आधारमा नलिन्चोकमा उडान गर्न नरोकिएको बताउँछन् ।

ओलीले भने ‘सबै पाइलको दक्षता एउटै हुन्छ भन्ने छैन्, कसैलाई असहज भएको उडान कसैलाई सहज लाग्न सक्छ ।’ त्यो विमानस्थमा माउन्टेन हेलिकप्टरले नै परीक्षण उडान गरेको र उडानै गर्न नसक्ने पनि नभएकोले थप पूर्वाधार तथा सेवा सुविधाले हेलि सेवालाई रोक्न नहुने तर्क उनको छ ।

पूर्वाधार बनाउँदै हेलिप्याडमा सञ्चालन गर्ने प्राधिकरणको रणनीति

नेपाल नागरिक उड्डय प्राधिकरणले भने परीक्षण सम्पन्न भएको र उडान अवतरणमा कुनै समस्या नभएकै कारण हेलिकप्टरलाई नलिन्चोक पठाएको बताएका छ । प्राधिकरणका अनुसार अहिले अफसिजन भएर हेलिकप्टरको उडान अवतरण कम भएको हो। एकैपटक धेरै हेलिकप्टरलाई त्यहाँ पठाउँदा उडान अवतरण र पार्किङमा समस्या हुने भएकोले संख्या घटाएर उडान गर्न भनिएको प्राधिरकणका सूचना अधिकारी ज्ञानेन्दै भुलले बताए ।

उनले भने ‘अहिले नलिन्चोकमा हेलिप्याड बनेको हो आवश्यक पूर्वाधार बनेपछि मात्रै होलिपोर्ट हुने हो । परीक्षण उडान सबन्धिन पाइलटबाटै गराएर हेलिप्याडा सञ्चालनमा आएको हो ।’

हेलिप्याड सम्बन्धी कार्यविधि

त्यहाँ उडान नै गर्न नसकिने र नमिल्ने भन्ने होइन, सेवा सुविधा नभएको विषय र दीर्घकालीनरुपमा तयार हुने पूर्वाधारको काम अगाडि बढाउँदै तत्कालीन समस्या समाधान गरेर जाने भनाइ पनि उनको छ ।

पाइलटहरुले उठाएको कतिपय जेन्युइन विषयलाई सम्बोधन गरेर नलिन्चोकमा उडान गर्न सम्बन्धित हेलिकप्टर कम्पनी र पाइलटलाई भनिएको छ । कसैलाई पनि जवरवजस्ती र दबाब दिने काम हुँदैन ।

उनले भने ‘काठमाडौं विमानस्थलमा आन्तरिक वायुसेवाको ह्यांगर निर्माण गर्ने काम अगाडि बढेकोले अब यहाँ एउटा कम्पनीको एउटाभन्दा बढी हेलिकप्टर राख्न सकिँदैन । त्यसैले सम्बन्धित हेलिकप्टर कम्पनीलाई दिएको विकल्पमा जानु भनिएको हो ।’

हेलिकप्टर कम्पनी नलिन्चोक जाने, पोखरा बस्ने वा अन्य कहाँ जाने भन्ने विषय सम्बन्धि कम्पनीकै भएको बुझाइ पनि प्राधिकरणका सूचना अधिकारी भुलको छ ।


राजु बास्कोटा