प्रधानमन्त्री र पूर्वअर्थमन्त्री पुनबीच संसद्‍मा भनाभन, ओलीले भने- उत्तेजनामा नआउनू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पूर्वअर्थमन्त्री वर्षामान पुनबीच भनाभन भएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिन उपस्थित भएका प्रधानमन्त्री ओली बोलिरहँदा पुनले विषय केन्द्रीत हुन निर्देश गर्न सभामुखसँग आग्रह गरेका थिए ।

ओलीले संसदमा उठाइने विषय हल्काफुल्का झुटा र पूर्वाग्रही हुन नहुने बताएका थिए,’सुन भनेर पित्तल चढाएको जस्तो कुरा सदनमा नगरियोस्’ ओलीले भनेका थिए ।

उनले यसो भनिरहँदा पूर्वअर्थमन्त्री पुनले उभिएर समय मागेका थिए । सभामुखले प्रधानमन्त्रीलाई केहीबेर रोकिन आग्रह गरेर पुनलाई समय दिए ।

‘यहाँ कार्यकर्तालाई गाली गर्न आएको हो र?’ पुनले प्रश्न गरे, ‘प्रधानमन्त्री कुन चाँही सन्दर्भमा बोल्दै हुनुहुन्छ ? सभामुख ज्यूले रुलिङ गर्नु पर्छ होला । प्रधानमन्त्री प्रश्न उत्तरमा हुनुहुन्न ।’

प्रधानमन्त्री ओलीले रोष्टमबाट भने,’प्रश्न उत्तरै गरिरहेको छु ।’

पुनले भने,’कार्यकर्तालाई गाली गर्न आएको हो र यहाँ ।’

प्रधानमन्त्रीले भने, ‘कसलाई गाली गरेको छ ? गाली नगरौं भनिरहेको छु म ।’

त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई विषय केन्द्रीत हुन निर्देश गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘म बिल्कुल विषय केन्द्रीत छु । संसदमा उठेका प्रश्नको । लिखित प्रश्नको जवाफ दिनुपर्नेमा त्यसअघि बाटोमै अलिखित आइपुग्यो त्यसैले यसो नगरौं भनेको हुँ । मैले कुनै गाली गलौज कसैलाई गरेको छैन, आवेश उत्तेजनामा आउनु आवश्यक छैन ।’


क्लिकमान्डु