सूर्यदर्शन सहकारीबाट रवि-जीबीको गोर्खा मिडियामा साढे ५ करोड रकम ट्रान्सफर



काठमाडौं । सूर्यदर्शन सहकारी* संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा साढे पाँच करोड भन्दा बढी रकम ट्रान्सफर भएको पाइएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानविन विशेष संसदीय समितिको बैठकमा सम्बन्धित पालिकाका प्रतिनिधिले उक्त जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनको व्यवसायीक साझेदार गितेन्द्र बहादुर (जीबी)राई संलग्न गोरखा मिडिया नेटवर्कमा सहकारीको उक्त रकम ट्रान्सफर भएको पाइएको हो ।

आज समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरुसँग गरेको छलफलमा उक्त विषय बाहिरिएको हो ।
गोरखा मिडिया नेटवर्कमा गएको रकम करिब साढे ५ करोड रहेको छ । गोरखा मिडियामा सिधै २० लाख र जिबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको बताइएको छ । सबैगरी करिब साढे ५ करोड रुपैयाँ सूर्यदर्शक सहकारीबाट गएको रहेको समितिका सभापति सूर्य थापाले बताए ।

जिबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरुको मार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको पाइएको छ ।

एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पाइएको हो । कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने पनि तथ्य प्राप्त भएको थापाले बताए ।

छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, ईमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरुमा केन्द्रीत भएको उनले बताए ।

स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरुको अवस्था कस्तो रहेछ भन्ने विषयमा आज छलफल भएको समितिका सभापति थापाले बताए ।

बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनका बारेमा जानकारी लिइएको उनले बताए । त्यस्तै सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिएको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखापरेको प्रवृत्तिको बारेमा बैठकमा छलफल भएको सभापति थापाले जानकारी दिए ।

बागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानून अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भिमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौं महानगरपालिकाबाट विभागिय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको थियो ।

*सच्याईएको


क्लिकमान्डु