उपसभामुखले भनिन्: करुणाभावले सहयोग गर्न खोजेँ, नियोजित रुपमा विवादमा ल्याइयो



काठमाडौं । अमेरिका लैजानका लागि अनधिकृत व्यक्तिहरुका लागि राजदूतावासमा सिफारिस गरेपछि विवादमा परेकी उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै रानाले आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको बताएकी छन् ।

उपसभामुख भएको एक महिनापछि उपसभामुख रानाले पाँच जनालाई कार्यक्रममा जानका लागि भिसाका लागि अन्तर्वार्ता मिति सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखिको सार्वजनिक भएको थियो ।
दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामाथि प्रश्न उठेको छ ।

उपसभामुख रानाले आफूले कार्यक्रममा सहभागी हुन निमन्त्रण आएकाहरूलाई अन्तर्वार्ताको मिति लिइदिन पत्र लेखेको विज्ञप्तिमा स्वीकार गरेकी छन् ।

तर आफूले भिसाका लागि अनुरोध नगरेको भन्दै उनले भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वतः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन, होइन ।’

आफूले लेखेको पत्र मर्यादा अनुरुप भएन भनेर आएको प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ छ ।

आफ्नो स्वभावगत कमजोरीको कसैले फाइदा लिएको हुनसक्ने भए पनि आफूले अनैतिक काम नगरेको उनको दाबी छ।

‘आज जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौं लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवनमाथि लान्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि बिचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहने जानकारी गराउन चाहन्छु’ उपसभामुख रानाले आफ्नो विज्ञप्तिमा भनेकी छिन् ।


क्लिकमान्डु