बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक आन्दोलन, २५ को मृत्यु, सयौं घाइते



एजेन्सी । आरक्षणको विरोध गर्दै बंगलादेशमा भइरहेको आन्दोलनमा अहिलेसम्म मृत्यु हुनेको संख्या २५ पुगेको छ । यसवाहेक सयौं मानिस घाइते भएका छन् । आन्दोलन र हिंसा तीब्र बन्दै गएको छ । कतिपय स्थानमा प्रदर्शनकारीहरुले प्रहरीविरुद्ध हिंसात्मक आक्रमण गरेका छन् ।

देशका केही क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । प्रदर्शनकारीहरुले भने सरकारी सेवा तथा रोजगारीको क्रममा आरक्षणको सुविधालाई खारेज गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । विश्वविद्यालयका विद्यार्थीहरुले केही दिनदेखि नै १९७१ को जस्तै मुक्ति युद्ध लड्ने भन्दै सैनिकहरुका सन्तानलाई दिइएको आरक्षण बन्द गर्नुपर्ने माग उठाइरहेका छन् ।

१९७१ मा पाकिस्तानबाट अलग हुने क्रममा पनि बंगलादेशले विशाल विद्रोह गरेको थियो । सोही आन्दोलनलाई मुक्ति आन्दोलनको नामबाट चिनिन्छ । बंगलादेशमा एकतिहाइ सरकारी जागिरमा तिनै कर्मचारीहरुका सन्तानका लागि आरक्षित गरिएको हुन्छ ।

सोही आरक्षण खारेजीको माग गर्दै विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । केही दिनदेखि नै उनीहरुले गरेको प्रदर्शन तीब्र भएको छ । विद्यार्थीहरुले यो व्यवस्थालाई विभेदकारी भन्दै परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् । साथै मेरिटका आधारमा जागिर दिनुपर्ने उनीहरुको माग छ ।

प्रधानमन्त्री शेख हसिनाले भने प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै हिंसा रोक्न आग्रह गरेकी थिइन् । तर उनले समाधानका लागि पहल नगरेको भन्दै आन्दोलन झन भड्किएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि नै आन्दोलनकारीले देश ठप्प पारेका छन् ।

सरकारले भने ठूलो संख्यामा प्रहरी परिचालन गर्दै आन्दोलन दबाउने प्रयास गरिरहेको छ । सरकार कठोर बन्दा केही दिनको अवधिमै २५ जनाको मृत्यु हुनुका साथै सयौं मानिस घाइते भएका छन् । विद्यार्थीसहित युवाहरु भने आन्दोलन रोक्ने मनस्थितिमा छैनन् ।

प्रधानमन्त्रीको सम्बोधनपछि प्रदर्शन झनै हिंसात्मक बन्दैगएको छ । यतिसम्म कि ठूलो संख्यामा सवारीसाधनमा आगजनी गरिएको छ । सडक अवरद्ध पार्नुका साथै सहर ठप्प पारिएको छ ।


क्लिकमान्डु