२ वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छः मन्त्री दाहाल



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् ।

बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए । उनले कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमतिका आधारमा बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे । उनले कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको पनि बताए । उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको बताए ।

मन्त्री दाहालले यसो भने

मान्छेहरुको आकांक्षा बढेको देखेको छु । मान्छेहरुमा केही आशावादिता पलाएको देखेको छु । त्यो कोही प्रधानमन्त्री वा मन्त्री भएर मात्रै पनि होइन होला । अब अलिकति स्थायित्व आउने भयो भनेर सबै क्षेत्रमा उत्साह आएको छ । शंकाको सुविधा हामीले सबैलाई दिनुपर्छ । यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ । अब यहाँभन्दा हुने त केही छैन । ५/७ वटा दलहरु मिलेर सरकार बन्दाखेरी कहिले सरकार ढल्ने हो ? त्यही भइपनि राखेको छ । कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने । यो भएपछि अब हामीले एउटा प्रतिवद्धता गरौँ भनेर दुईवटा ठुला दलहरु र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन । अघिल्लो दुई वर्ष नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ । यो खुल्ला छ । त्यसले गर्दा स्थायित्व यसले खोजेकै हो । यसलाई सफल बनाउने हो । अब यसलाई असफल हुने छुट छैन । सफल बनाउनुपर्छ ।


क्लिकमान्डु