अमेरिकी सेनाको शक्तिशाली हतियार भारतीय आतंकवादीको हातमा कसरी आयो ?



अमेरिकी सेनाले प्रयोग गर्ने शक्तिशाली हतियार जम्मु कश्मीर क्षेत्रमा भएका आतंकवादी हमलामा कसरी बारम्बार प्रयोग भइरहेको छ । एकै मिनेटमा ९०० राउन्ड फयर गर्ने हतियार कसले दियो उनीहरुलाई ?

एजेन्सी । जम्मु कश्मीरको डोडा जिल्लामा हालसालै आतंकवादीहरुसँग भारतीय सैनिक मुठभेड भयो । यसअघि रियासी र कठुवामा पनि यस्तै किसिमका आतंकवादी आक्रमण भएका थिए । जम्मु क्षेत्रमा पछिल्ला दिनहरुमा निरन्तर आतंकवादी आक्रमण भइरहेका छन् ।

यस क्रममा धेरै पटक भारतीय सैनिकले ठूलो क्षति बेहोर्नु परेको छ । भारतीय सैनिकले किन बारम्बार क्षति बेहोर्नु परेको छ भन्नेबारे धेरैले चिन्ता पनि व्यक्त गरिरहेका छन् । यसको एउटा कारण त जम्मु क्षेत्र पहाडी इलाका भएकाले त्यहाँ लुकेर बसेका आतंकवादी समूहसँग भिड्न कठिन हुने गर्छ ।

कतिपयले भने यसको मुख्य कारण ‘एम4 कार्बाइन एसल्ट राइफल’ भएको पनि बताएका छन् । अर्थात् आतंकवादीहरुले यो शक्तिशाली राइफल प्रयोग गर्दै आएका छन् ।

कस्तो हुन्छ यो राइफल ?

सामान्यतया यो राइफल बोक्नका लागि हल्का हुन्छ । र एक मिनेटमै ७०० देखि ९७० राउन्ड फायर गर्नसक्ने क्षमताको हुन्छ । यो राइफललाई चिन्ने एक प्रमुख कुरा के पनि हो भने यो अमेरिकी सेनाले प्रयोग गर्ने राइफल हो । अमेरिकासहित नेटो सैनिक, सिरिया, इरान, अफगानिस्तानमा पनि यो राइफलको प्रयोग गरिन्छ ।

५ देखि ६ सय मिटरभन्दा टाढासम्म यो राइफलले निशाना लगाउन सक्छ । जसमा नाइट भिजन पनि जडान गरिएको हुन्छ । जानकारहरु यसलाई विश्वकै सबैभन्दा शक्तिशाली राइफल मान्छन् । यो हतियार सन् १९८० को सुरुतिर बनाउन थालिएको हो । यद्यपि हालसम्म त्यसको नयाँ भर्सन अर्थात् धेरै परिमार्जन भइसकेको छ ।

यही शक्तिशाली हतियार जम्मु कश्मीरमा आतंकवादी समूहहरुले एकाध आक्रमणमा प्रयोग गर्नु त नौलो घटना हैन । तर हरेक जस्तै झडपमा आतंकवादी समूहले यस्तो राइफलको प्रयोग गरिरहेको छ । केही महिनाअघि जम्मुस्थित बसमा आतंकवादी समूहले गरेको आक्रमण पनि यही हतियार प्रयोग गरेको थियो ।

गत वर्ष पनि आतंकवादी समूहले यही राइफल प्रयोग गरेर ठूलो क्षति पुर्‍याएको थियो । यसअघि पुलवामा हमलामा पनि यही हतियार प्रयोग भएको देखिएको थियो । तर पटक पटक आतंकवादी समूहले किन यो हतियार प्रयोग गरेको छ भन्ने विषयलाई लिएर कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

अर्थात् जम्मुका आतंकवादी समूहको हातमा यो अमेरिकी सेनाको हतियार कसरी आइपुग्यो ? जानकारहरुका अनुसार जब अमेरिकी सेनाले २०२१ मा अफगानिस्तान छोडेको थियो त्यसबेला त्यहाँ थुप्रै हतियार छोडेको बताइन्छ । कतिपय हतियार फिर्ता लैजान नमिलेको र कतिपय हतियार नष्ट गर्न पनि सकिएको थिएन । तिनै हतियार पाकिस्तानको बाटो भएर भारत भित्रिएको पनि केही जानकारहरुको भनाइ छ ।


क्लिकमान्डु