प्रधानमन्त्रीको आग्रह: भेट्नुको सट्टा डिजिटल माध्यमबाटै बधाई-शुभकामना दिनुहोला



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहने शुभेच्छुकहरुलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उनले भेटेर बधाई दिनुको सट्टा फेसबुकमार्फत बधाई तथा शुभकामना ज्ञापन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार फेसबुकमार्फत् समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । साथै भेटको क्रममा बधाई तथा शुभकामना दिन चाहनेहरुलाई पनि खादा प्रयोग नगर्न उनको आग्रह छ । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका हुन् ।

“विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समय पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

गत असार ३० गते उनी प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारी निवास बालुवाटार र सिंहदरबारमा उनलाई भेट्न चाहने पार्टीका कार्यकर्ता, व्यवसायी साथै शुभेच्छुकहरुको हरेक दिन भीड नै लागेको छ ।


क्लिकमान्डु