सरकार फेरिनु स्वभाविक हो तर नयाँ सरकारले जनतामा आशा जगाएको छ: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । सरकार परिवर्तन हुनु नयाँ कुरा नभए पनि आफू नेतृत्वको नयाँ सरकार गठन भएपछि देशमा आशा र भरोसा जागेको उनले बताए ।

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसार राहतलगायतका आवश्यक व्यवस्था मिलाउने बताए । उनले नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याबिनेटबाटै आफ्नो काम अघि बढाएको दाबी गरे ।

भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने पनि प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यस क्रममा सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने उल्लेख गर्दै आश्वस्त हुन पनि उनले सबैलाई आग्रह गरेका थिए ।

‘साथीहरुलाई म विश्वस्त, आश्वस्त र ढुक्क रहन म के आग्रह गर्न चाहन्छु भने यो सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मुलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अफ्ठेरो परेको बेला कठिनाइमा भएका जनतालाई हेर्ने कुरामा । यो तीनवटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र साशन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

देशमा सरकार परिवर्तन भएर नयाँ सरकार आउनु स्वभाविक भए पनि आफ्नो कार्यकालमा जनताले आशा र भरोसा गर्नसक्ने उनको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आज देशमा अलिकति परिवर्तन भएको छ । सरकार परिवर्तन भएको छ । सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समयसमयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरुमा पनि जगाएको छ । प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, यत्तिकै प्रधानमन्त्री हुनका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ । र मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रीपरिषदलाई ठीक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति ।’


क्लिकमान्डु