१३औँ पटक मन्त्री बनेका भण्डारी भन्छन्- अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिन्छु



काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरे । उनी यसअघिको सरकारमा पनि विसं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए ।

विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३औँ पटक मन्त्री बनेका हुन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।

‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु’, उनले भने ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे ।

‘अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन’, उनले भने, ‘हामीले इमान्दारिता र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम ग(यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।’


क्लिकमान्डु