सिमलताल पहिरोः थप दुई शवको पहिचान



चितवन । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो ।

सनाखत हुनेमा भरतपुर–२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ ।

आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण-२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका-१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा नारायगढ-मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।

ती बसमा सवार यात्रुको पहिचान शव भेटिने क्रम जारी रहेको प्रहरी प्रमुख रिमालले बताए । घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।


क्लिकमान्डु