चुनावमा ट्रम्पलाई साढे १६ अर्ब चन्दा दिने १० अमेरिकी अर्बपतिहरु को हुन् ?



२०१६ को चुनावमा मलाई कसैको पैसा चाहिँदैन भन्ने घोषणा गरेका डोनल्ड ट्रम्पले यसबीचमा चुनावी अभियानका लागि करोडौं डलर दान पाइसकेका छन् । जोन्सन एन्ड जोन्सनदेखि रेलरोड्सका मालिकसम्मबाट १२ करोड ३० लाख डलर चन्दाको रुपमा उनले दान लिएका छन् । को हुन् ट्रम्पको राजनीतिमा निरन्तर सहयोग गर्ने ती अमेरिकी अर्बपतिहरु ?

एजेन्सी । सन् २०१६ मा पहिलो पटक अमेरिकाको राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरिरहेका बेला डोनल्ड ट्रम्पले भनेका थिए, ‘मलाई कसैको पैसा चाहिँदैन ।’

तर यथार्थमा त्यस्तो थिएन । पूर्वराष्ट्रपति ट्रम्पले अहिलेसम्म आफ्नो चुनावी अभियानमा आफ्नो निजी खर्च गरेका छैनन् । बरु केही अर्बपतिहरुले नै उनको चुनावी अभियानमा ठूलो रकम खर्च गर्दै आएका छन् । कतिपय अवस्थामा ट्रम्पको पार्टीका अन्य उम्मेदवारका लागि पनि अर्बपतिहरुले लाखौं डलर खर्च गरिदिएका छन् ।

अमेरिकाको संघीय निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार लामो समयदेखि ट्रम्पको समर्थक रहेका प्रमुख १० बिलिनियरहरुले उनको चुनावी अभियानका लागि अहिलेसम्म १२ करोड ३० लाख अमेरिकी डलर अर्थात् १६ अर्ब ४४ करोड ५ लाख ८५ हजार नेपाली रुपैयाँ बराबरको रकम खर्च गरिसकेका छन् ।

चुनावमा दान गरेको यो रकम ठूलो लाग्नसक्छ । जवकि ती अर्बपतिहरुको कुल सम्पत्ति ५५ अर्ब अमेरिकी डलर छ । तिनै अर्बपतिहरुको आर्थिक सहयोग ट्रम्पका लागि झनै आवश्यक र महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । किनकि ट्रम्प आगामी नोभेम्बरमा हुने राष्ट्रपति पदका लागि तेस्रो पटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

को हुन् ट्रम्पका प्रमुख १० अर्बपति सहयोगीहरु

टिमोथी मेलोन

टिमोथी मेलोनले ट्रम्पको समूहलाई ७ करोड ६५ लाख डलर खर्च गरिसकेका छन् । जसको कुल सम्पत्ति १ अर्ब डलर छ । न्युयोर्कको अदालतले ट्रम्पलाई ३४ वटा आरोपमा दोषी ठहर गरेको भोलिपल्ट मेलनले ट्रम्प समूहलाई ५ करोड अमेरिकी डलर सहयोग गरेका थिए ।

सन् २०२० मा पनि मेलनले ट्रम्पको समूहलाई २ करोड डलर दान गरेका थिए । १९६० को दशकमा एक कम्प्युटर प्रोग्रामिङ कम्पनीको स्थापना गरेका मेलनले पछि रेलरोड्स कम्पनी खरिद गरेका थिए । जसलाई २०२२ मा उनले ६० करोड डलरमा बिक्री गरेका थिए । उनले अमेलिया इयरहार्टको विमानको अस्थिपन्जरको खोजीका लागि पनि १० लाख अमेरिकी डलर खर्च गरेका थिए ।

लिन्डा म्याकमोहन

लिन्डाले ट्रम्पको समूहलाई १ करोड ११ लाख डलरभन्दा धेरै रकम दान दिएकी छन् । जसको कुल सम्पत्ति २ अर्ब ९० करोड डलर छ। लिन्डाका पति भिन्सले अर्बौं डलरको विश्व रेस्लिङ मनोरन्जनको क्षेत्र (डब्लुडब्लुई) मा एउटा साम्राज्य नै स्थापित गरेका छन् ।

लिन्डाले ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा लघु व्यवसाय प्रशासनको प्रमुखको रुपमा काम गरेकी थिइन् । लिन्डाका पतिले भने अवैध यौन क्रियाकलापको आरोप लागेपछि गत जनवरीमा डब्लुडब्लुईको कार्यकारी अध्यक्षबाट राजीनामा दिएका थिए । लिन्डा म्याकमोहन हाल ट्रम्प समर्थक नन प्रोफिट अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युटको अध्यक्ष तथा ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको बोर्ड सदस्य हुन् ।

केल्सी वारेन

केल्सी वारेनले ट्रम्पको समूहलाई ५८ लाख दान गरिसकेका छन् । जसको कुल सम्पत्ति ६ अर्ब ३० करोड डलर छ । इनर्जी ट्रान्सफरका कार्यकारी अध्यक्ष रहेका वारेन ट्रम्पका एक वफादार सहयोगी मानिन्छन् । उनले नेतृत्व गरेको इनर्जी ट्रान्सफरले डकोटा एक्सेस पाइपलाइनलाई पनि सञ्चालन गर्छ । उक्त कम्पनीलाई २०१७ मा ट्रम्पले नै उद्घाटन गरेका थिए । वारेनले ट्रम्पको पुननिर्वाचनको समर्थन गर्दै ११ लाख डलरभन्दा धेरै दान गर्दै यस वर्ष मत्रै ट्रम्पको समूहलाई लगभग ६० लाख डलर दान दिइसकेका छन् ।

डायने हेन्ड्रिक्स

डायने हेन्ड्रिक्सले ट्रम्पको समूहलाई ५५ लाख अमेरिकी डलर दान दिइसकेकी छन् । उनको कुल सम्पत्ति २० अर्ब ९० करोड डलर छ । डायने अमेरिकामा एक्लो मेहनतबाट व्यवसाय स्थापित गरी सर्वाधिक धेरै सम्पत्ति कमाउने महिला पनि हुन् । उनी २०१६ मा ट्रम्पको चुनावी अभियानका क्रममा फन्ड रेजिङ कमिटीको उपप्रमुख समेत थिइन् । २०२० मा भने उनले ट्रम्पको समूहलाई ६० लाख डलर दान गरिन् ।

उनले यी चुनावका लागि पहिले नै ५५ लाख डलर दान गरिसकेकी छन् । हेन्ड्रिक्सले आफ्ना दिवंगत पति केनसँग मिलेर एबीसी सप्लाइ कम्पनी स्थापना गरेकी थिइन् । यो कम्पनी अहिले २० अर्ब डलरको निर्माण सामग्री बनाउने कम्पनीको रुपमा चर्चित छ ।

टिमोथी डन

टिमोथी डनले ट्रम्प समूहका लागि ५० लाख अमेरिकी डलर दान गरिसकेका छन् । उनको कुल सम्पत्ति भने २ अर्ब २० करोड छ । पश्चिम टेक्ससमा स्थापित निजी तेल कम्पनी क्राउन क्वेस्टका संस्थापक हुन् । उनले गत डिसेम्बरमा ट्रम्पका लागि ५० लाख डलर खर्च गर्नुका साथै अन्य रिपब्लिकन कमिटीका लागि थप २५ लाख डलर दान गरेका थिए ।

एलिजाबेथ उहिलीन र रिचर्ड उहिलीन

ट्रम्पको समूहका लागि एलिजाबेथ र रिचर्डले संयुक्त रुपमा ५० लाख डलर दान गरेका छन् । उनीहरु प्रत्येकको कुल सम्पत्ति चाहिँ ६ अर्ब ६० करोडका दरले छ । प्याकेजिङ मेटेरियल्स कम्पनी उलीनका संस्थापक रहेका एलिजाबेथ र रिचर्ड रिपब्लिकन पार्टीको चुनावी अभियानका महत्त्वपूर्ण व्यवसायी हुन् ।

उनीहरुले २०१६ मा पनि ट्रम्पको समूहलाई ५ लाख डलरभन्दा धेरै दान गरेका थिए । र २०२० मा भने १० लाख डलरभन्दा धेरै दान दिए । यसपटकको चुनावमा एलिजाबेथ र रिचर्ड दुबैले ५०/५० लाखका दरले ट्रम्प समूहलाई दान गरेका छन् ।

फिल रफिन
अर्बपति व्यवसायी फिल रफिनले ट्रम्पको समूहलाई ३३ लाख डलर दान गरेका छन् । जसको कुल सम्पत्ति २ अर्ब ६० करोड छ । फिल लसभेगासस्थित ट्रम्प इन्टरनेसनल होटलका सहलगानीकर्ता पनि हुन् । जसले यसअघिका दुई चुनावमा दान गरेको एकमुस्ट रकमभन्दा पनि धेरै यसपटकको एउटै चुनावमा दान दिइसकेका छन् । उनको कम्पनी अन्तर्गत आइल्यान्डमा सर्कस क्यासिनोहरु पनि सञ्चालित छन् ।

ज्योफ्री पाल्मर
पाल्मरले ट्रम्प समूहका लागि ३० लाख डलर दान गरेका छन् । जसको कुल सम्पत्ति ३ अर्ब १० करोड छ ।
उनी लसएन्जल्सका सबैभन्दा ठूला घरजग्गा व्यवसायीमध्ये एक हुन् । र लामो समयसम्म राजनीतिमा पनि सक्रिय थिए । उनले २०१६ को चुनावी अभियानमा ट्रम्प समूहलाई ६३ लाख डलर दान गरेका थिए भने २०२० मा चाहिँ १ करोड ५० लाख डलर दान गरेका थिए । आगामी चुनावका लागि ट्रम्प समूहलाई पाल्मरले ३० लाख डलर दान गरिसकेका छन् ।

रोबर्ट ‘वुडी’ जोन्सन
रोबर्ट वुडी जोन्सनले ट्रम्प समूहका लागि २७ लाख डलर खर्च गरिसकेका छन् । उनको कुल सम्पत्ति चाहिँ ३ अर्ब २० करोड डलर छ । जोन्सन अमेरिकाको न्युयोर्क जेट्स र जोन्सन एन्ड जोन्सन हेल्थकेयरका मालिक हुन् । उनी यसअघि ट्रम्पको कार्यकालमा बेलायतका लागि अमेरिकी राजदूतको रुपमा समेत नियुक्त भएका थिए ।

२०२४ को चुनावका लागि ट्रम्पको समूहलाई उनले १९ लाख डलर दान गरिसकेका छन् । जवकि उनकी पत्नी सुजनेले ८ लाख डलर दान गरिसकेकी छन् ।


क्लिकमान्डु