ओलीसँग प्रचण्डको गुनासो: ‘ढाँट्नुको पनि सीमा हुन्छ नि !, देउवाजीले चाहिँ सरी भन्‍नुभयो’



काठामडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसबीचको नयाँ सहमति तथा गठबन्धन स्वार्थ र भयका कारण सम्भव भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले दुई ठूला दलहरु मिल्नका लागि अँध्यारो र बन्द कोठा आवश्यक नपर्ने भन्दै त्यसमा स्वार्थ र खराब नियत लुकेको उनको आरोप थियो । पछिल्लो समय एमाले र कांग्रेसका दुई शीर्ष नेताहरुले गरेको सहमतिबारे प्रधानमन्त्री प्रचण्डले संसद्‍को रोस्ट्रममा उभिएर बोलेका थिए । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले भने ‘कांग्रेसका साथीहरु हामी आफैँ मिलेको भन्नुहुन्छ । तर हैन । कसैले मिलाएको हो । कसले र किन मिलाएको हो भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । तपाइँहरु आफैं मिलेको हैन । कसैले मिलाएको हो । कसको घरमा कस्तो समयमा सहमति भयो यो कुराले पनि आम जनताले तपाइँहरुको नियत बुझिसकेका छन्,’ प्रचण्डले भनेका थिए । यस्तै अँध्यारो र बन्द कोठामा कांग्रेस र एमालेको सहमति बनेको भन्दै यसलाई प्रचण्डले रहस्यमय र नाटक मन्चन गरिएको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले नयाँ सहमतिलाई लिएर एमाले र कांग्रेस दुवै दलका शीर्ष नेताहरुलाई सोध्दा कांग्रेसका सभापति शेरबहादुर देउवाले जस्ताको त्यस्तै जवाफ दिएको तर एमाले अध्यक्ष केपी ओलीले ढाँटेर झुट बोलेको गुनासो गरे ।

‘पत्रिकामा दुई नेताको नाम र हस्ताक्षर आयो । मैले ओलीजीलाई सोधेँ । उहाँले त थाहा छैन भन्नुभयो । मैले फोटो नै देखाएँ । उहाँले कहिलेको फोटो रहेछ भन्नुभयो,’ प्रचण्डले भनेका छन्, ‘ढाँट्ने र झुट बोल्ने पनि सीमा हुन्छ नि !’ प्रचण्डले अगाडि थपेका छन्, ‘मैले सहमतिको विषयमा देउवाजीलाई पनि फोन गरेर सोधेँ । उहाँले आफ्नै शैलीमा सहमति भएको हो । सरी-सरी भन्नुभयो ।’

प्रचण्डले नयाँ सहमतिबाट देशलाई नै प्रतिगमनतिर लैजान सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर आफ्को कार्यकालमा ओम्नी, वाइडबडी, लगायतका काण्डहरु नलागेको भन्दै सुशासन राम्रो हुन थालेपछि दुई ठूला दलहरु मिलेको उनको भनाइ थियो ।


क्लिकमान्डु