पेप्सी, ड्यु र मिरिन्डा उत्पादन गर्ने बरुण बेभरेजले साढे ८ महिनामा गर्यो पौने ५ अर्बको कारोबार



काठमाडौं । पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, सोडा लगायतका सफ्ट ड्रिंक उत्पादन तथा बिक्री वितरण गर्ने बरुण बेभरेजले साढे ८ महिनामै पौने ५ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

बरुण बेभरेज इन्डियाको शतप्रतिशत लगानीमा सन् १९९५ देखि सञ्चालित बरुण बेभरेज (पेप्सीको नेपाल) सफ्ट ड्रिंक उत्पादन गर्ने ठूला खेलाडीमध्येको एक हो । नेपालमा पेप्सीको कल्चर भित्र्याएको बरुण बेभरेजका उत्पादनहरुमध्ये अहिले करिब ९० प्रतिशत माउन्टेन ड्युको हिस्सा छ ।

सन् २०२२ मा ८ अर्ब २ करोड रुपैयाँको कारोबार गर्न सफल यो कम्पनीले २०२३ मा भने जम्मा ७ अर्ब ६२ करोड रुपैयाँको मात्रै कारोबार गरेको थियो । सन् २०२४ को ८ महिनामा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । यो आर्थिक वर्षको बाँकी रहेको साढे ३ महिनाको संभावित व्यवसायलाई अनुमान गर्दा कम्पनीले ७ अर्बको हाराहारीमा ब्यापार गर्नसक्ने देखिन्छ ।

ब्यापार खासै नबढे पनि कम्पनीले ऋणको सीमा भने बढाएको छ । यसअघि २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको कम्पनीले हालैमात्र ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीको ऋणलाई ए वान प्लस रेटिङ दिएको छ । जुन राम्रो हो । कम्पनीको कुल ऋणको कुल नेटवर्थको ०.१ गुणा छ । नवलपरासी प्लान्टमा क्षमता विस्तार गर्न कम्पनीले ऋण बढाएको हो ।


क्लिकमान्डु