सरकार नै हुण्डी कारोबारमा संलग्न: सांसद साह



काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् ।

कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरु नै कानुनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनको आरोप थियो ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताए । हुण्डी कारोबारकै कारण राजस्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई उनले सचेत गराए ।

प्रभु साहले यसो भने

हुण्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौं । आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिन दहाडै बढ्दो छ । कालो धनलाई सेतो बनाउने सहज भएपछि भ्रष्टाचार रोक्ने होइन, आकर्षित भइरहेको छ । अपराधका घटनाहरु हुण्डी कारोबारका कारण बढ्दो छ । लागुऔषध नेपालमा बेरोकटोक छिर्दो छ ।

सुन क्वीन्टलका क्वीन्टल नेपाल आइरहेको छ । यो अवस्था नेपालमा छ । हुण्डी कारोबार के नेपालमा नियन्त्रण गर्नैं नसकिने हो ? नेपालको कानूनले यसलाई ठूलो अपराध ठानेको छ । तर सरकारले यसलाई किन नियन्त्रण गर्न सक्दैन भनेर प्रश्न गर्न चाहन्छु । आज हामीले देखिराखेको छौं–नेपालको खर्ब खर्ब रुपैयाँ दिनदहाडै विदेश गईराखेको छ । हुण्डी कारोबारका कारण नेपालको खर्बौं खर्ब दुनियाले देख्नेगरी विदेश गईराखेको छ । यसलाई रोक्नै नसकिने हो र । हुण्डी कारोबारीको संरचना के तोड्नै नसकिने हो ? सरकार उच्च ओहोदाका मान्छेहरु हुण्डि कारोबारमा संलग्न छन् । मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन्। बैंकहरु आफैं अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन् । र, नेपाल यसरी बर्बाद हुँदैछ । राजस्व दिनदहाडै छली हुन्छ । भन्सार छली हुण्डीकै कारण भएको छ । हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफै हुण्डी कारोबारमा संलग्न छ।


क्लिकमान्डु