टिकटकले तीन महिनामा हटायो १६ करोड भिडियो र ९७ करोड कमेन्ट



काठमाडौं । टिकटकमा अपलोड भएका १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाइएको कम्पनीले जनाएको छ। टिकटकले सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीले नयाँ डाटा पोइन्ट र ट्रेन्डलाई समेट्दै ग्लोबल कम्युनिटीका निम्ति सुरक्षित वातावरण बनाउन कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको जनाएको छ ।

सन् २०२४ को पहिलो तीन महिनामा अपलोड १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाइएको र यो संख्या अपलोड गरिएका भिडियोको लगभग ०.९ प्रतिशत भएको टिकटकले जनाएको छ ।

कम्पनीले कम्युनिटी गाइडलाइन्सविपरीतका यी भिडियो विश्वभरबाट हटाएको जनाएको छ । तीमध्ये १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट हटाइएको थियो ।

हटाइएका मध्ये ६० लाख ४२ हजार २८७ भिडियो थप समीक्षापछि पुनर्स्थापित गरिएको टिकटकले जनाएको छ ।

यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका आधारमा तीन महिनामा ९७ करोड ६४ लाख ७९ हजार ९४६ भिडियो कमेन्ट हटाएको समेत जनाएको छ । यो संख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टको १.६ प्रतिशत हो ।

उक्त अवधिमा क्रियटरले आफ्ना भिडियोबाट तीन अर्ब ३८ करोड १६ लाख ४६ हजार ७२२ कमेन्ट फिल्टर गर्न वा हटाउन एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलको प्रयोग गरेको कम्पनीले जनाएको छ ।

आफ्नो गाइडलाइन्सविपरीतका कन्टेन्ट पहिचान, रिभ्यु र अड्रेस गर्न प्रतिबद्ध रहेको जनाएको टिकटकले जनाएको छ ।

यसबाहेक टिकटकले अनलाइन बालयौन दुर्व्यवहार र शोषण (सीएसईए) र बालयौन दुर्व्यवहार सामग्री (सीएसएएम)को आदानप्रदानविरुद्ध लड्न आफ्नो एक नयाँ स्ट्यान्ड–अलोन रिपोर्ट पनि सार्वजनिक गरिरहेको जनाएको छ ।

यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ ।


क्लिकमान्डु