दक्षिणपूर्वी एसिया बीवाइडीको पहिलो फ्याक्ट्री : वर्षमा डेढ लाख कार बनाउने



एजेन्सी । चिनियाँ विद्युतीय सवारी बीवाइडीले नयाँ एसेम्बल प्लान्ट खोल्दै थाइल्यान्डमा आफ्नो स्थानीय वितरक रेभर अटोमोटिभको २० प्रतिशत सेयर खरिद गर्ने भएको छ । रेभर चीन बाहिर बीवाइडीको सबैभन्दा ठूलो ईभी बजारको अग्रणी कम्पनी मानिन्छ।

सेङझेनमा अवस्थित बीवाइडीले दक्षिणपूर्वी एसियामै आफ्नो पहिलो फ्याक्ट्री थाइल्यान्डमा यसै साता खोलेको हो । ४९ करोडको लागतमा खुलेको यो फ्याक्ट्रीले १० हजार कामदारलाई रोजगारी दिँदै वार्षिक १ लाख ५० हजार सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

रेभर अटोमेटिभसँग थाइल्यान्डमा १ सयभन्दा धेरै सोरुमहरु रहेका छन् । २०२२ मा बीवाइडी सवारी बिक्री सुरु गरेको यो कम्पनीले यसबीचमा थाइल्यान्डमा सबैभन्दा धेरै व्यापार गर्ने ईभी ब्रान्डको रुपमा चिनिएको छ ।

‘हामी इलेक्ट्रिक सवारीको प्रयोगलाई तीब्रता दिन र थप दीगो भविष्यतर्फ थाइल्यान्डको संक्रमणमा योगदान दिनका लागि हाम्रो साझेदारीलाई अझ गहिरो बनाउन पाउँदा हामी उत्साही छौं,’ बीवाइडीका एसिया प्यासिफिक अटो सेल्स जीएम लिउ छुएलियाङले भनेका छन् ।

पछिल्लो समय थाइल्यान्ड क्षेत्रीय रुपमा अटो ऐसेम्बली र एक्सपोर्ट हबको रुपमा चिनिदै आएको छ । साथै लामो समयदेखि टोयोटा मोटर, होन्डा मोटर, इसुजु मोटर लगायत जापनिज कारहरुका नयाँ ट्याब खुलेका छन् ।

२०२४ को पहिलो त्रैमासिकमा बीवाइडीले थाइल्यान्डको ईभी बजारको ४६ प्रतिशत सेयर आफ्नो पक्षमा पारेको थियो । थाइ कम्पनी रेभरले घरेलु बजारमा ठूलो छुटको विषयमा सरकारी अनुसन्धानको सामना गरिरहँदा बीवाइडीले यसको सेयर खरिद गरेको हो ।


क्लिकमान्डु