प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छः सांसदहरु



काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसदले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन् ।

कांग्रेस सांसद रामहरि खतिवडाले बाढी र पहिरोले सडक अवरुद्ध पारेजस्तै सरकारले देश नै अवरुद्ध पारेको उल्लेख गर्दै संसदले त्यसलाई पन्छाउनुपर्ने बताए ।

सांसद खतिवडाले भने, ‘सदनले सरकारलाई पन्छाउनु पर्‍यो । बाढी र पहिरोले सडक छेकेजस्तै सरकारले ससदको कामलाई पनि छेकेको छ ।’

एमाले सांसद रघुजी पन्तले संसदमा बहुमत गुमाइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताको आधारमा पनि राजीनामा दिन उपयुक्त हुने बताए । संविधानले उनलाई विश्वासको मत दिने अधिकार दिए पनि बहुमत गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत पुर्‍याउन सक्ने अवस्था नभएकाले संसदमा विश्वासको मत लिने काम आवश्यक नभएको राप्रपाकी सांसद रोशन कार्कीले बताइन् । उनले प्रधानमन्त्रीसँग बढीमा ६३ मत रहेकाले संसदमा बहुमत पाउने अवस्था नरहेको तर्क गरिन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।


क्लिकमान्डु