ओमानमा व्यापार, लगानी तथा रोजगार प्रवर्द्धन कार्यक्रम



काठमाडौं । नेपाली राजदूतावास मस्कटले मस्कटस्थित नेपाल घरमा व्यापार, लगानी तथा रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल र ओमानबीचको व्यापार तथा लगानीका अवसरलाई प्रवर्द्धन गर्ने र नेपाली कामदार ल्याउन इच्छुक ओमानस्थित संस्थाहरुका लागि शुरुवात गरिएको संस्थागत मागपत्र प्रमाणीकरणको ई-पोर्टलबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठित व्यवसायिक संस्थाहरु जस्तै सुपरमार्केट, निर्माण कम्पनी, सेवा प्रदायक संस्था, अस्पताल आदिका कन्ट्री म्यानेजर, मानव संशाधन प्रबन्धकलगायत सञ्चारकर्मी, उद्योग व्यवसायीहरू र नेपाली स्वयम् सेवक सहित ६५ भन्दा बढी अतिथिहरुको सहभागिता थियो।

कार्यक्रममा बोल्दै राजदूत डोरनाथ अर्यालले नेपाल सरकारले नेपाली व्यापारको विविधीकरण र नेपालमा वैदेशिक लगानीका प्रशस्त अवसरहरुको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको कुरालाई प्रकाश पार्दै नेपाली समकक्षीहरुसँगको आफ्नो कारोबारलाई विस्तार गर्न ओमानस्थित व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

राजदूत अर्यालले नेपाल इन्भेष्टमेन्ट समिट २०२४ सफलतापूर्वक सम्पन्न भएको र यसका उपलब्धिहरूबारे जानकारी गराएका थिए । राजदूत अर्यालले ओमानमा संस्थागत माग प्रमाणीकरणका लागि ई-पोर्टलको शुभारम्भ गर्नुका साथै यसबाट सम्पूर्ण प्रक्रिया पारदर्शी र सहज हुने आफू विश्वस्त भएको जानकारी दिए ।

उनले नेपाली कामदार भर्ना सम्बन्धी अन्य प्रक्रियालाई पनि क्रमशः अनलाइन प्रक्रियामा लैजाने र त्यस्ता पहलले प्रमाणीकरणको कार्यमा सहजता, शीघ्रता र पारदर्शिता ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कन्सुलर सेवा विभागका सूचना-प्रविधि अधिकृत श्री नवीन झाले बाट गर्नु पर्ने कम्पनी दर्ता र माग पत्र प्रमाणीकरणबारे भर्चुअल प्रस्तुतिकरण गरेका थिए । उनले रोजगारदाता कम्पनीले मा सर्वप्रथम आफ्नो कम्पनी दर्ता गर्नुपर्ने र राजदूतावासले दर्ता स्वीकृती प्रदान गरेपछि मात्रै नेपाली कामदार भर्नाको लागि मागपत्र प्रमाणीकरण प्रक्रिया अगाडि बढाउन सकिने जानकारी दिए ।

राजदूतावासका द्वितीय सचिव बिशेषकुमार साहले नेपाली कामदार भर्नाको लागि मागपत्र प्रमाणीकरणको सम्पूर्ण प्रक्रियालाई यस ई-पोर्टलको माध्यमबाट भौतिक रुपमा गर्नुपर्ने कार्यलाई डिजिटल प्लेटफर्ममा प्रतिस्थापन गरेको जानकारी दिदै अन्तरक्रियाको क्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको सहज जवाफ दिएका थिए ।

ओमानका रोजगारदाताहरूको ई-पोर्टलमा कम्पनी दर्ता १९ असार २०८१ देखि सुरु भएको छ। ०१ श्रावण २०८१ बाट सबै संस्थागत मागपत्रहरू ई-पोर्टलमार्फत मात्र प्रमाणिकरण गरिनेछ र भौतिक मागपत्रहरू राजदूतावासमा स्वीकार गरिने छैन।

कार्यक्रमका सहभागीहरुलाई अनलाइन मागपत्र प्रमाणीकरण सम्बन्धी विश्लेष्नात्मक म्यानुअल र नेपालको व्यापार तथा लगानी अवसर सम्बन्धी कागजात उपलब्ध गराइएको थियो।


क्लिकमान्डु