धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिने, अन्तरिम आदेश निरन्तर



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवाद सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले गत साउन १८ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न गठन गरेको समिति विघटन गर्दै अध्यक्ष नियुक्तिको सबै प्रकृया रद्द गरेपछि अध्यक्षका आकांक्षीमध्येका एक सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले फागुनमा गठन गरेको समिति र उक्त समितिले अघि बढाएका सबै प्रकृया रद्द गर्दै धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न नयाँ समिति गठन गरेको थियो । रिट निवेदक श्रेष्ठले पुरानो प्रकृया रद्द गर्न निमिल्ने तथा सरकारले गठन गरेको नयाँ समितिलाई काममा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।

रिट निवेदकको माग अनुसार सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलास तत्काल बोर्ड अध्यक्ष सिफारिसको प्रकृया अघि नबढाउन असार १८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आज सोही आदेशले निरन्तरता पाउँदै प्रकृया रद्द गर्ने निर्णयका विषयमा आगामी इजलासबाट टुंगो लगाउने आदेश जारी भएको छ । सर्वोच्चको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै धितोपत्र बोर्डको अध्यक्ष सिफारिस प्रकृया रिटको अन्तिम फैसला नभएसम्म रोकिने भएको छ ।

अध्यक्ष नियुक्तिका लागि मुख्य ५ मा छानिएका श्रेष्ठले यो प्रकृया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मुख्य ५ मा छानिएका ५ जना मध्ये ३ जना अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रकृया रद्द गरेको थियो ।

कानुनी व्यवस्था अनुसार कम्तिमा तीनजनाको नाम समितिले सिफारिस गर्नुपर्ने भएपछि नियुक्ति प्रक्रिया रद्द गरिएको थियो । प्रकृया रद्द भएपछि सर्टलिस्टमा परेर कार्यपत्र र कार्ययोजना प्रस्तुत गरेका श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका हुन् ।


क्लिकमान्डु