औद्योगिक प्रयोजनको लागि कोटाभन्दा बढि चिनी आयात गर्न अनुमति माग



काठमाडौं । उद्योगहरुले औद्योगिक क्षेत्रमा कच्चा पदार्थको रुपमा चिनी आयात गर्न सरकारसँग अनुमति माग गरेका छन् ।

उद्योगहरुले चालु आर्थिक बर्षमा साढे २१ हजार मेट्रिक टन चिनी आयात गर्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुमति माग गरेक हुन् । सरकारले औद्योगिक क्षेत्रमा कच्चा पदार्थको रुपमा चिनी आयात गर्न कसैलाई अनुमति दिइसकेको छैन ।

‘करिब पन्द्रह बीसजना उद्योगीबाट औद्योगिक क्षेत्रमा कच्चा पदार्थको रुपमा चिनी प्रयोग गर्न आयातको लागि अनुमति माग गरेका छन्,’ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता चण्डीप्रसाद घिमिरेले भने, ‘प्राप्त भएको मागसम्बन्धी फायलहरु अध्ययन गरी अनुमति प्रदान गर्र्छौ ।’

उद्योगहरुले भारतले कोटा तोकेको परिमाणभन्दा बढि परिमाणमा चिनी आयातको लागि अनुमति माग गरेका हुन् । भारतले २०८० कात्तिक १६ गते नेपाललाई जिटुजी (सरकारद्वारा सरकार) सुविधा अन्तर्गत नेपाललाई कोटामा चिनी उपलब्ध गराउने निर्णय गरेको थियो ।

तत्कालीन समयमा भारतले चिनीको निर्यातमा प्रतिवन्ध लगाएपनि सरकारमार्फत आग्रह भएको अवस्थामा कोटा तोकेर उपलब्ध गराउन सक्ने निर्णय गरेको थियो । सोहि निर्णयअनुसार भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनीको कोटा तोकेको थियो । साथै भारतले उक्त कोटाको चिनी २०२४ सेप्टेम्वर ३० तारिखभित्र नेपालले आपूर्ति गरिसक्नुपर्ने समयसीमासमेत तोकेको थियो । उक्त तोकिएको कोटामध्ये १९ हजार मेट्रिक टनको कोटा बाँकी छ ।

गत भदौ २७ गते अर्थ मन्त्रालयले चिनी आयात गर्दा भन्सार शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो । तत्कालीन समयमा नेपालमा चिनीको चर्को अभाव भएको थियो । सरकारले चिनी आयात गर्न ५० प्रतिशत छुट दिएपनि भारतमै चिनीको मूल्य निक्कै महँगो भएकाले नेपालका उद्योगी व्यवसायीले आयात गर्न चासो देखाएनन् ।

पछिल्लो समय, असार २ गते उद्योग विभागले दोश्रो पटक सूचना जारि गर्दै औद्योगिक कच्चा पदार्थको रुपमा चिनी आवश्यक हुने उद्योगले तोकिएको कोटा १९ हजार मेट्रिक टन आयात गर्न आवेदन दिन उद्योगहरुलाई आग्रह गरेको थियो ।

सोहि सूचनाअनुसार करिब २० वटा उद्योगहरुबाट चिनी आयातको लागि उद्योग विभागमार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा आवेदन दिएको हो । सरकारले अहिलेसम्म उपभोक्ताले खपत गर्ने चिनी आयातको लागि भने कुनै प्रक्रिया अघि बढाएको छैन् ।

स्वदेशी चिनी उद्योगले चालु आर्थिक बर्षमा ५० हजार मेट्रिक टन चिनी अभाव हुने भन्दै आयात गर्न सरकारलाई गत जेठमै सुझावसहितको पत्राचार गरेको थियो ।


क्लिकमान्डु