काठमाडौं-तराई/मधेस द्रुतमार्गको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’



काठमाडौं। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ब्रेक थ्रु भएको छ ।

आयोजनाको प्याकेज-२ मा पर्ने मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको हो ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए । सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनु भएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे ।

उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए । उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल लगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति रहेको थियो ।

गएको जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएका थिए ।


क्लिकमान्डु