दिनभर उतारचढावपछि नेप्सेमा १५ अंकको सुधार, साढे ६ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेको हो ।

कारोबार सुरु भएको केहीबेरमै २१२९ अंकसम्म पुगेको नेप्से २११९.६९ अंकमा पुगेर बन्द भएको छ । दिनभर उतारचढाव बेहोरेर नेप्से ०.७३ प्रतिशतले बढेको हो ।

कारोबारमा आएका ९२ कम्पनीको सेयर मुल्य घटेपनि १४९ कम्पनीको भाउ बढ्दा नेप्सेमा उत्साह छाएको हो । यसदिन ६ कम्पनीको मूल्य यथावत रहे ।

यसक्रममा ८४ हजार १ सय २६ करोबारमार्फत् ३ सय १३ स्क्रिप्टका २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँमा किनबेच भए ।

यीमध्ये कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३० करोडको सेयर किनबेच हुँदा नेपाल फाइनान्स र महालक्ष्मी विकास बैंकको १७–१७ करोडको सेयर कारोबार भएको छ ।

आज आँखुखोला जविको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै समाज लघुवित्त, आरम्भ चौतारी लघुवित्त, शांग्रिला डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनी सर्वाधिक कमाउनेमा परे ।

नेप्से बढेपनि दोर्दी खोला जविका सेयरधनीले सबैभन्दा बढी ४.७५ प्रतिशत गुमाए । सानिमा डिबेन्चर, जानकी फाइनान्स, न्यादी हाइड्रो र इमर्जिङ नेपालको मूल्य सर्वाधिक घटेका छन् ।

यसदिन वित्त र उत्पादनमुलकबाहेक सबै समूहको उपसूचकमा सुधार आएको छ । सबैभन्दा बढी वृद्धि विकास बैंक समूहमा ३.४३ प्रतिशतले भएको छ ।

नेप्से बढेको दिन बजार पुँजीकरण ३३ खर्ब ६२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु