प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण: दीर्घकालीन असर पर्ने काम नगर्नू



काठमाडौं । नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार स्पष्टतः अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरिएको छ ।

पोखरेलको विज्ञप्तिमा संसद्‍का दुई ठूला दलहरु एमाले र कांग्रेस मिलेर केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर एमालेका मन्त्रीहरुले राजीनामा समेत दिइसकेको उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन नेकपा (एमाले)सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ । साथै, एमालेले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गरेको छ ।’

एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरणबाट सरकार गठनको सहमति भइरहँदा एमालेका मन्त्रीहरुले राजीनामा दिइसकेका छन् । प्रधानमन्त्री दाहालले भने फेरि संसद्‍बाट विश्वासको मत लिने बताउँदै आएका छन् ।


क्लिकमान्डु