राजीनामा बुझाउन गएका एमाले मन्त्रीलाई प्रचण्डले सुनाए गीत: यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले…
काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरु बुधबार राति राजीनामा बुझाउनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे ।
बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीना पत्र बुझाए ।
एमाले मन्त्रीहरुले प्रधानमन्त्रीलाई पालैपालो राजीनामा बुझाए
एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा बुझाएपछि प्रचण्ड केही भावुक बने । राजीनामा बुझेका प्रधानमन्त्रीले कुनै राजनीतिक टिप्पणी गरेनन् । उनले एउटा कुरा भन्छु भन्दै फत्तेमान राजभण्डारीको गीत, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले,.. कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले’ गाए । त्यसपछि केहीबरे बसेर एमालेका मन्त्रीहरु फर्किए ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । उनले अब राजीनामा दिने वा तीसदिन भित्र संसदबाट विश्वासको मत लिनु पर्ने छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि गठबन्धन गर्ने सहमति भइसकेको छ । पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने छन् भने दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र लामो समयपछि प्रतिपक्षमा पुग्ने अवस्थामा देखिएको छ ।