मुकुलमाथि कारबाहीको माग केन्द्रीय सदस्यहरुले गरे पनि सभापतिले रोक्नुभयो: स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले महामन्त्रीको व्यवहार र शैलीले उनले लेखेको प्रतिवेदन ओझेलमा परेको टिप्पणी गरेका छन् ।

बुधबार सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकाल र संस्थापन पक्षबीच बिबाद उत्कर्षमा पुगेको छ । उनको प्रतिवदेनमाथि छलफल सकिएपछि उनले जवाफ दिनु पर्ने माग केन्द्रीय सदस्यहरुले गरेपछि ढकाल बैठकबाट बाहिरिएका थिए ।

उनी बाहिरिएपछि केही बेर बैठक रोकिएको थियो । त्यसक्रममा उपसभापति वाग्लेले केन्द्रीय समिति बैठकमा महामन्त्री ढकाल असामान्य तरिकाबाट पेश भएको बताए । महामन्त्रीको व्यवहार र शैलीले उनले लेखेको प्रतिवेदनसमेत ओझेलमा परेको वाग्लेलेको भनाइ थियो ।

बैठक लाइभ नगर्ने भनेर केन्द्रीय सदस्यले अनुमोदन गरे पनि महामन्त्रीले त्यसलाई स्वभाविक रुपमा लिन नसकेको वाग्लेको भनाइ छ ।

पार्टी नेताहरुले गर्ने सम्मानलाई ढकालले सामूहिक रुपमा नै लत्याएको उनको टिप्पणी थियो ।

‘आजको वैठकमा उहाँ एकदमै असहज, अस्वभाविक र अप्राकृतिक रुपमा पेश हुनुभयो । आज उहाँको व्यवहार मैले चिनेको मुकुल ढकाल रहेन । हामीले गर्ने स्नेह र सम्मानलाई उहाँले आज सामूहिकरुपमा नै लत्याउनुभयो’ बाग्लेले भने ।

महामन्त्रीमाथि कारवाही गर्ने माग बैठकमा उठे पनि सभापति रवि लामिछानेले नै रोकेको वाग्लेले दाबी गरे । लामिछानले एक दिनको असामान्य व्यवहारका कारण हटाउन नमिल्ने बताएको उनको भनाइ छ ।

‘महामन्त्रीजीको पार्टीमा यत्रो योगदान छ । हठात एक दिनको असामान्य व्यवहारका कारण हटाउने भन्ने हुँदैन भनेर टप नेतृत्व संयमित ढंगले लागिरहेको छ । विशेषगरी सभापतिज्यूले अनुशासन आयोगको बाउन्ड्रीबाटै जानुपर्छ भन्नुभयो,’ वाग्लेले भने ।

अपरिपक्व निर्णय नहोस् भनेर सभापति चिन्तित रहेको उनले बताए ।

आजको प्रस्तुतीपछि महामन्त्रीमाथि केन्द्रीय सदस्य आक्रोशित भएको उनको भनाइ थियो । ‘केन्द्रीय सदस्यहरुको उहाँप्रति सामूहिक रोष थियो’ उनले भने ।


क्लिकमान्डु