मुकुलको प्रतिवेदन पेश गर्न सभापति लामिछानेले सहमति जनाउनु भएको थियो: मनिष झा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री मनिष झाले महामन्त्री मुकुल ढकालले बैठक लाइभ गर्न गरेको प्रस्ताव केन्द्रीय समितिले अस्वीकार गरेको बताएका छन् ।

महामन्त्रीले प्रतिवेदन पेस गर्न सर्त राखेको र त्यसलाई सभापति रवि लामिछानेले सहमति जनाए पनि केन्द्रीय सदस्यहरुले अस्वीकार गरेको झाले बताए ।

‘महामन्त्रीज्यूले प्रतिवेदन गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो,’ झाले भने,’त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उहाँकै उपस्थितिमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीज्यूले वाचन गर्नुभयो ।’

केन्द्रीय समिति बैठकमा लञ्च ब्रेक सकिएपछि महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल भइरहेको छ । एक जना केन्द्रीय सदस्यलाई ७ मिनेट बोल्न समय छुट्टयाइएको छ।

ढकालले ३२ पृष्ठको समीक्षा प्रतिवेदन पेस गरेका थिए भने ६ पेजको छुट्टै प्रस्ताव बैठकमा पेस गर्न खोजेका थिए ।


क्लिकमान्डु