एनआईसी एशिया बैंकले ऋणीले असार मसान्तभित्र व्याज तिरे छुट दिने



काठमाडौं । एनआईसी एशिया बैंकले २०८१ असार महिनाभित्रमा कर्जाको जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुटको योजना सार्वजनिक गरेको छ ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउन २०८० चैत मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने बैंकले जनाएको छ । त्यस्तै साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेकाले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।


क्लिकमान्डु