चीनका यी चिया पसले कसरी बने अर्बपति ?



१५ वर्षअघि स्कुल छेउको सानो पसलबाट दुधचिया बेच्‍ने गरेका वाङ जिआओकुनले अहिले चीनमा झन्डै ८ हजार स्टोर सञ्चालन गर्दै छन् । फोर्ब्सको डलर बिलिनियर सूचीमा पर्न सफल उनै चिनियाँ व्यापारीको प्रेरणादायी कथा

एजेन्सी । वाङ जिआओकुन चा पान्डा कम्पनीका संस्थापक तथा मालिक हुन् । दुधचिया बेचेरै विशाल कम्पनी स्थापित गरेका उनले अन्तर्राष्ट्रिय रुपमा आफ्नो चेन कम्पनी मात्रै बनाएनन्, २ अर्ब १० करोडभन्दा बढी मूल्यको पुँजी बनाएर फोर्ब्सको अर्बपति सूचीमा आफूलाई उभ्याइसकेका छन् ।

४० वर्षीय वाङको साथमा हाल १ अर्ब १० करोड डलरभन्दा बढी कुल पुँजी छ । छेन्दुस्थित पेय पदार्थको बजारमा उनको चेन कम्पनीले ६० प्रतिशत हिस्सा ओगटिसकेको छ । पछिल्लो ३ वर्षमा उनको बजार तीब्र विस्तार भइरहेको छ । जहाँ चा पान्डाको ७ हजारभन्दा धेरै स्टोरको नेटवर्क छ ।

म्यांगो पोमियो सागो, तारो बबल टी र जस्मिन ग्रिन टी जस्ता पेय पदार्थ प्रमुख रुपमा उनको व्यापारका मेन्यु हुन् । जसमध्ये अधिकांशको मूल्य ३.६० अमेरिकी डलर वा यसभन्दा कम नै हुने गर्छ । वाङकी पत्नी लिउ वेइहोङ पनि कम्पनीमा ३३ प्रतिशत हिस्सेदारीसहित ७० करोड अमेरिकी डलर सम्पत्तिको मालिक हुन् । जहाँ लिउ सुपरभाइजरी कमिटीको नेतृत्व गर्छिन् । र चा पान्डाको दैनिक व्यापारको निगरानी उनले नै गर्दै आएकी छन् ।

गत जुनमा बन्द भएको फन्डिङ राउन्डको क्रममा चा पान्डाको सेयर १३.२ युआन अर्थात् १.८ अमेरिकी डलरमा लगानीकर्ताहरुलाई बिक्री गरिएको थियो । जसमा सीआईसीसी, अर्किड एसिया र संघाइ लोयल भ्याली इन्भेस्टमेन्ट सामेल थिए । यद्यपि कम्पनीले आफ्नो टाइमलाइन र साइजसहित प्रारम्भिक सार्वजनिक प्रस्तावको बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । तर विश्लेषकहरुले भने चा पान्डालाई चीनको तीब्र प्रतिस्पर्धात्मक चिया बजारमा आफ्नो गति अग्रता कायम राख्न थप स्टोरहरु खोल्नका लागि नयाँ लगानी आवश्यक चाहिने बताउँदै आएका छन् ।

विशेषगरी चिया बजारको कुरा गर्दा उपभोक्ताहरुले धेरै नयाँ छनोट गर्ने र जसको धेरै स्टोर छ उसैकहाँ ग्राहकहरु जाने गरेको भन्दै विश्लेषकहरु यस कम्पनीलाई अग्रता कायम गर्न थप लगानी आवश्यक पर्ने बताउँछन् ।

स्कुलछेउको चिया पसलबाट सुरु भएको चा पान्डा

चा पान्डा २००८ मा सुरु भएको हो । चीनको दक्षिणपश्चिमी सहर छेन्दुस्थित एउटा स्कुल नजिकै सानो चिया पसलबाट वाङले यो व्यवसाय सुरु गरेका थिए । जहाँ प्रारम्भिक दिनहरुमा उनी फलफूल र बबल टी बिक्री गर्थे । जुन पसल मसलेदार चियाका लागि चर्चित थियो ।

एक दशकको अवधिमा वाङले चा पान्डाको नाममा आफ्नो चिया पसलको नेटवर्क स्थापित गरे । २०२० सम्ममा उनले ५३१ वटा चा पान्डाका स्टोरहरु सञ्चालनमा ल्याइसकेका थिए । तर जव उनले आफ्नो व्यवसायमा फ्रेन्चाइजिङ मोडल भित्र्याए त्यसपछि भने व्यवसायमा मन्दी आयो ।

चा पान्डाले हाल पेय पदार्थहरुको नयाँ रेसिपी विकास गर्दै फलफूल र चियापत्ती जस्ता सामग्री साथै फलफूल र चा पान्डाको आफ्नै ब्रान्डको पेय पदार्थ बनाएर आफ्नै स्टोरहरुबाट बिक्री गर्दै आएको छ । तर वाङले हङकङमा रहेको नायुकी होल्डिङ्स जस्ता प्रतिस्पर्धीहरुको तुलनामा आफ्ना पेय पदार्थको मूल्य कम नै राखेका छन् । यसो गर्दा कर्मचारीहरुको तलब र प्रत्यक्ष रुपमा सञ्चालन हुने स्टोरहरुको भाडामा चा पान्डाले धेरै खर्च गर्नु परेको छ ।

स्थानीय बजारमा ब्यापार तीब्र रुपमा बढ्दै गएपछि चा पान्डाको नाममा ब्रान्ड स्थापना गरी प्रचारप्रसारको काम २०१७ पछि मात्रै गरेको हो । कोरोना महामारीको समयमा भने चा पान्डाले बजारको अवस्था बेवास्ता गर्दै कम्पनीले ३ हजार थप स्टोरहरु थपेको थियो । यसरी ९ महिनाको अवधिमा चा पान्डाले थप स्टोर थपेर ३ हजारभन्दा धेरै पुर्‍यायो । यससँगै महामारीको समयमा होम डेलिभरीमा अभ्यस्त हुँदै ‘डेलिभरीको राजा’को उपनाम पाउन थाल्यो ।

तर यसअघि नै कम्पनीले २०१८ मा नै नयाँ ब्रान्ड चिनाउने र प्रचारमा धेरै काम गरेको थियो । यसरी गत वर्ष २०२३ को अगस्टमा हङकङ स्टक एक्सचेन्जमा आईपीओ बिक्री गर्न थालेपछि भने यो कम्पनी फोर्ब्सको सूचीमा सूचीकृत भएको हो । २०२४ को अप्रिलदेखि भने यो कम्पनीले कोरियामा पनि आफ्नो बजार विस्तार गर्न थालिसकेको छ ।

चा पान्डाले समग्रमा गत वर्षको अगस्टसम्म आफ्नै ब्रान्ड स्टोरहरुको कुल संख्या बढाएर ८ हजार पुर्‍याएको छ । गत वर्ष चा पान्डाले ५८ करोड ३० लाख अमेरिकी डलर आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतभन्दा बढीको व्यापार हो । यस्तै कम्पनीले २४ प्रतिशत नाफा बढाउँदै १३ करोड २० लाख अमेरिकी डलर भन्दा बढी नाफा गरेको थियो । चीनको समग्र बजार हेर्दा यो देशकै तेस्रो ठूलो चिया ब्यापार कम्पनी हो । ब्रान्डलाई युवा उपभोक्ताहरुमाझ लोकप्रिय बनाउन कम्पनीले अनलाइन प्रचार सामग्रीहरु उपलब्ध गराउनुका साथै भव्य म्युजिक इभेन्टहरु साथै अन्य कल्चरल इभेन्टहरुलाई पनि प्रायोजन गर्दै आएको छ ।


क्लिकमान्डु