एमाले-कांग्रेस मिलेर सरकार बनाउनु संवैधानिक हुँदैन: माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु संवैधानिक नहुने दाबी गरेको छ । माओवादीका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गरे ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको तर्क गरे ।

लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर कांग्रेस र एमालेबीच सहमति नभएको उनको भनाइ छ । संसदका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार बन्ने कुरा नै प्राकृतिक नभएको जिकिर उनको थियो ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको उनले बताए ।

‘हामीलाई के लागेको छ भने अप्रत्याशित रुपमा जुन खालको घटनाक्रमहरु अघि आएका छन् । यो त्यति स्वभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन् । संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको छ । यो बेठिक छ’ उनले भने ।


क्लिकमान्डु