कांग्रेस र एमालेको सरकार बन्न लागेकोबारे के भन्छन् नेता ?



काठमाडौं । शनिवारयता विकसित घटनाक्रमले सरकार परिवर्तन हुन लागेको देखिएको छ ।

प्रमुख दलका शीर्ष नेताबीच बाक्लिएको भेटघाट र छलफलले सत्ता परिवर्तनको चर्चालाई बल दिइरहेको छ । यसबीच नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण सोच भएको बताए ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताए ।

एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र संकिर्ण सोच भएको उनको भनाइ छ ।

संविधान संशोधन गर्न र सत्तालाई स्थिर ढंगले चलाउने उद्देश्यसहित दुई दल मिल्नु राम्रो हुने उनको भनाइ छ ।

कांग्रेसका सांसद डा.प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा सझादारी बन्यो भने कांग्रेस एमालेको सहकार्य हुनसक्ने बताए ।

उनले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर अगाडी बढ्नुपर्ने बताए ।

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको बताए ।

एमाले सरकार अदल बदलको पक्षमा नरहेको उनको दाबी छ ।

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नेताहरुबिचको भेटवार्ताले सत्ता समीकरणमा फेरबदल नआउने दाबी गरे।

आज नै वर्तमान सत्ता समीकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भद्र सहमती भएको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री दाहाल वर्तमान सत्ता समीकरणलाई नै ०८४ सालसम्म लानका लागि प्रयत्नरत रहेको बताए ।


क्लिकमान्डु