मुकुल ढकालबारे उपसभापति अर्यालः केन्द्रीय कमिटी बैठकले निर्णय गर्छ



महामन्त्री मुकुल ढकालबारे सञ्चारकर्मीहरुको प्रश्नमा उपसभापतिसमेत रहेका डीपी अर्यालले भनेपार्टीको अनुशासन बाहिर गएको भए कारबाही हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । रास्वपाका महामन्त्री मुकुल ढकालबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा प्रतिक्रिया दिँदै उपसभापति अर्यालले यसबारे बुधबार पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने बताए ।

महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाएको र अहिलेसम्म केही नभएको उनको भनाइ थियो । अर्यालले बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने र पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताएका थिए ।

‘केही भएको छैन, उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला । त्यसकारणले पार्टी सभापतिज्युलाई बुझाउनुभएको छ । हामी बैठक बस्दैछौँ । पर्सिको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं । पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागू हुनेकुरा हो । हामीले प्रतिवेदन पढेका छैनौँ । पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ । त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौँ ।’

महामन्त्री ढकालले भने प्रतिवेदन बुझाएपछि आफ्नो पार्टी देशभर कमजोर बनिसकेको र सुध्रन आवश्यक रहेको औंल्याएका थिए । साथै अहिलेकै अवस्थामा चुनाव भए आफ्नो पार्टीले १/२ स्थानभन्दा धेरै स्थानमा पराजित हुने बताएका थिए । ढकालले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी नसुध्रिए रवीन्द्र मिश्रले विघटन गरेको विवेकशील पार्टी जस्तो बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।


क्लिकमान्डु