तीन स्टार्टअप उद्यमी पुरस्कृत, यस्ता छन् उत्कृष्ट उद्यम



काठमाडौं । सरकारले तीन नवप्रवर्तन उद्यमीलाई पुरस्कृत गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनही दुई लाख रुपैयाँसहित तीन नवप्रवर्तन उद्यमीलाई पुरस्कृत गरेका हुन् ।

मन्त्रालयले झापाको हाई हिमालय अर्गानिक प्राइभेट लिमिटेडका प्रदीप घिमिरे, ललितपुरको माउन्टेन बी कन्सर्न प्राइभेट लिमिटेडका सरिता भट्टराई र रुपन्देहीको आवास फर्निचन इण्डस्ट्रिजका यज्ञेश्वरप्रसाद श्रेष्ठलाई जनही दुई/दुई लाख रुपैयाँसहित सम्मान गरेको हो ।

औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधिको प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएका उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड २०८० अनुसार पुरस्कृत गरिएको हो ।

नवप्रवर्तन कार्यमा संलग्न उद्यमीलाई प्रस्ताव गर्न सरकारले ३० दिने सूचना जारी गरेको थियो । यसरी माग गरिएको प्रस्ताव अनुसार ६ वटा प्रस्तावमा मूल्यांकन गरिएको थियो । मूल्यांकन समितिले प्राप्त कागजातका आधारमा पूर्व मूल्यांकन गरेको थियो ।

नेपालभित्रै मूल्य सिर्जना वा नविनता हासिल अनुसन्धान तथा खोजमुलक कार्यमा गरेको लगानीको अवस्था, उद्योगमा प्राविधिक र विषय विज्ञको संलग्नता, उद्योगका भावी कार्ययोजना उद्योग संचालन र व्यवस्थापन र बजारीकरणको नवीनतम रणनीतिलाई मूल्यांकनको आधार तोकिएको थियो ।

यस्तै उद्योग स्थापना गरेको क्षेत्र, रोजगारी प्रदान गरेको संख्या, पेटेन्ट, डिजायन र ट्रेडमार्क दर्ताको अवस्था, उद्योगले गरेको कारोबार रकम र कर चुक्ताजस्ता विषयलाई मूल्यांकनको आधार बनाइएको थियो ।

६ वटै प्रस्तावकको उद्योगमा स्थलगत अनुगमन तथा निरीक्षणको आधारमा तीन जना नवप्रवर्तन उद्यमीलाई पुरस्कृत गरिएको हो । झापाको हाई हिमालय अर्गानिक प्राइभेट लिमिटेड २०७९ भदौदेखि प्रांगारिक मल, अर्गानिक किटनाशक औषधिलगायत उत्पादन गर्दैआएको छ । यो उद्योगले उत्पादन गर्न स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ प्रयोग गर्दैआएको छ ।

कारखानाका लागि पनि कवाडीबाट फलाम, मेसिन र औजारहरु संकलन गरी मल उत्पादन गर्ने मेसिन निर्माण गरिएको थियो । २ जना माइक्रोवायोलोजिस्ट कर्मचारीसहित नौ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् भने १ सय जनाले अप्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् । घिमिरेका अनुसार उद्योग स्थापना र उत्पादन गर्न आवश्यक पर्ने अध्ययन गर्न मात्रै १ करोड रुपैयाँ खर्च भएको थियो ।

घिमिरे पूर्वी टिमोर, इस्टिमोर, थाइल्याण्डलगायत करिब १५ वटा देशमा कृषि क्षेत्रमा काम गरी अनुभव प्राप्त गरिसकेका छन् । सातै प्रदेशमा कम्तीमा एक/एक वटा प्रांगारिक मलको कारखाना स्थापना गर्ने लक्ष्य राखेका घिमिरेले अहिले आफ्नो कारखानाबाट प्रतिलट ५० टन मल उत्पादन गर्दैआएका छन् ।

यस्तै ललितपुरको माउन्टेन बी कन्सर्न प्राइभेट लिमिटेडले २०६८ सालदेखि ललितपुरको कुपण्डोलमा २१ घारबाट मौरीपालन सुरु गरेको हो । सरकारी निकायबाट २०७० सालमा आधिकारिकता पाएको माउन्टेन बी कन्सर्नले हाल १ हजार ४ सय माहुरीको घार राखी मह उत्पादन गर्दै आएको छ ।

माउन्टेन बी कन्सर्नले प्रत्यक्ष रुपमा ३७ र अप्रत्यक्ष रुपमा करिब ८ सय जनालाई रोजगारी दिएको छ । उद्योगले स्वदेशको महको बजार धान्दै जापान, रसिया, बैंकक, भारत, बंगलादेश, मलेसियालगायतका मुलुकमा निर्यात गर्दै आएको छ ।

माउन्टेन बी कन्सर्नले माहुरीको घारमा आवश्यक पर्ने रानी माहुरी आफैं एआई प्रविधिबाट कृतिम गर्भाधान गराउँदै आएको छ । वार्षिक रुपमा स्वदेशमा ३ हजार पटक तालिम यो संस्थाले उपलब्ध गराएको छ ।

उद्योगले वार्षिक ६ हजारभन्दा बढी मौरी सहितका घार र १ लाख ४० हजार किलो मह उत्पादन गर्दैआएको छ । माहुरीको चाकाबाट सावुन र लिपबामसमेत यो संस्थाले उत्पादन गर्दैआएको छ । रुपेन्देहीको आवास फर्निचर उद्योग देवदह १० मा २०७७ सालदेखि सञ्चालनमा छ । यो फर्निचरले आवश्यक पर्ने प्लास्टिकको डोरीलगायतका सामान आफैं उत्पादन गर्दैआएको छ ।

उद्योगले हाल १२ बटा उद्योग बुटवलमा सञ्चालन गरी बुटवलमा स्थापित उद्योगमा गनिएको छ । यो उद्योगले उत्पादन गर्ने ५० प्रतिशत सामान अन्य उद्योगबाट उत्पादन हुन सकेको छैन । यो उद्योगबाट १ हजार २ सय जनाले प्रत्यक्ष रोजगारी दिएको छ ।


क्लिकमान्डु