राजनीतिक भेटवार्ता तीव्र: प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान छलफल भएको हो ।

एक दिनअघि मात्रै प्रधानमन्त्री दाहाल र ओलीबीच सिंहदरबारमा एक घन्टा छलफल गरेका थिए ।

सोमबार बिहान के विषयमा छलफल भएको भन्ने विषयमा दुवै पक्षले सार्वजनिक गरेका छैनन् । संक्रमणकालीन न्यायको विषयमा शीर्ष दल तथा नेताहरुबीच सहमति कायम गर्ने दबाब भइरहँदा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच भेटवार्ता तीब्र भइरहेको छ ।

दुई दिनअघि शनिबार साँझ मात्रै कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । आइतबार ओलीसँग प्रधानमन्त्री दाहालको भेटवार्ताको विषयमा भने शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने, समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारवाही लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको थियो ।

यसवाहेक कतिपय नेताहरुले नयाँ सत्ता समीकरणको प्रयास भएको दाबी गरिरहँदा प्रधानमन्त्री र सत्ता गठबन्धन दलका नेता ओलीबीचको तीव्र भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आइतबारको छलफलमा रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।


क्लिकमान्डु