१८ वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने



काठमाडौं । सहकारी संस्था ठगी प्रकरणको अनुसन्धान गर्न गठिन संसदीय छानबिन समितिले १८ वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकले कार्यादेशको अनुसुची १ मा रहेका मध्येबाट १८ वटा समस्याग्रस्त सहकारीको बचत परिचालन, लेखा परीक्षण प्रतिवेदन लगाएतका विवरण पठाउनका लागि पत्रचार गर्ने निर्णय गरेको हो ।

यसकारले यसअघि २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । जसमा तीन वटा सहकारीका बचतकर्ताले बचत फिर्ता पाएका छन् ।

सहकारी बिभागको सिफारिसमा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये असार पहिलोसाता कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानी भएको मन्त्रालयले जनाएको छ । २० वटा सहकारीमा ३ वटाको फरफारक भएपछि १७ वटा बाँकी रहेका थिए ।

असार ६ गते सहकारी विभागको सिफारिसमा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ । यो सहित समस्याग्रस्त सहकारीको संख्या १८ पुगेको छ ।
यो समितिले बनाएको पहिलो सूचीमा रहेका २० वटा संस्थाबाट ३ वटा हटेका छन् भने १ वटा थपिएको छ ।

छानबिन समितिका सभापति सूर्य थापाले ति सहकारीहरुको सवै विवरण आएपछि त्यसमाथि अध्ययन अनुसन्धान हुने बताए ।

समितिले समस्याग्रस्त सहकारीको छानबिनका लागि यसअघि गठन भएका विभिन्न आयोग र समितिका नेतृत्वसँग छलफल गरेको छ ।

सहकारीका बारेमा अध्ययन अनुसन्धानका लागि यसअघि गठन भएका राधाकृष्ण मैनाली, गौरी बहादुर कार्की लगाएतसँग छलफल गरेको उनले जानकारी दिए ।


क्लिकमान्डु