यूरोपका विभिन्न देश पठाइदिने भन्दै १५ सयभन्दा बढी युवा ठगिए, इटहरीमा मात्रै ३०० जनाबाट ८ करोड असुली



आकर्षक तबलमा युरोपका विभिन्न देशमा रोजगारीका लागि पठाउने भन्दै इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटि एण्ड ट्रेनिङ सेन्टर (इटुडब्लु)नामक एक कम्पनीले ठगी धन्दा चलाएको छ । कम्पनी रजिस्टारको कार्यालयमा २०८० साउन १५ गते दर्ता भएको तर मेनपावरको रुपमा वैदेशिक रोजगार विभागमा दर्ता नभएको कम्पनीले युवाबाट करोडौं रकम अशुल गरेर सञ्चालकहरु फरार भएका छन् ।

काठमाडौ । युरोपका विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै १५ सय भन्दा बढी युवालाई इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटि एण्ड टे«ेनिङ सेन्टर (इटुडब्लु) नामक एक कम्पनीले ठगी गरेको छ । कतारमा केन्द्रीय कार्यालय रहेको भन्दै उक्त कम्पनीले नेपालका विभिन्न चारवटा सहरमा शाखा खोलेर प्रतिव्यक्ति ४० हजारदेखि साढे ४ लाख रुपैयाँसम्म अशुली गरेको प्रमाण क्लिकमान्डुले फेला पारेको छ ।

इटुडब्लुका सञ्चालक विक्रम बराइली भनिने बलबहादुर विश्वकर्माले उनका छोरा अमित बराइली र राजुकमार गजमेरसहितको समूहबाट इटहरी, काठमाडौं, बुटवल र चितवतमा शाखा खोलेर करोडौ रकम अशुल गरी फरार भएका छन ।

इटुडब्लुको नाममा इटहरीको शाखबाट मात्रै ३ सय जना युवा ठगिएका छन । यो शाखाबाट मात्रै करिब ८ करोड रुपैयाँ अशुल गरेर सञ्चालक फरार भएको पीडित युवाले बताएका छन् । एउटा शाखाबाट भएको यो ठगीले चारवटा शाखाबाट कम्तिमा १५ सय जना युवाबा पैसा अशुली भएको अनुमान गरिएको छ ।

इटहरीबाहेक काठमाडौं, चितवन र बुटवमा झन धेरै युवाको पैसा फसेको भन्दै पीडित युवाहरुले बताएका छन । ठगीएका युवाहरुले वैदेशिक रोजगार विभागमा दिएको एक उजुरीमा एउटा शाखाबाट ३ सय जनामा लिएको ८ करोडकले पनि अरु शाखासहितबाट करिब ३० करोड रुपैयाँभन्दा धेरै रकम इष्ट टु वेष्ट नामक संस्थाले ठगेको अनुमान गरिएको छ ।

वैदेशिक रोजगार विभागमा परेको उजुरी अनुसार इटुडब्लुले युवाहरुलाई गन्तव्य देशअनुसार पैसा लाग्ने भन्दै युवाहरुबाट ५० हजार, १ लाख, २ लाख, ३ लाख, ४ लाख गर्दै पैसा अशुल गरेर सञ्चालक फरार भएका हुन । अहिले यसका सञ्चालकहरु संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको उल्लेख छ ।

ठगीएका पिडीत युवाहरुका अनुसार इटुडब्लु नामको कन्सल्टेन्सीले युरोपका विभिन्न देशहरु सर्बिया, पोल्याण्ड, माल्टा, क्रोयसिया, हंगेरी, ग्रीस, बेल्जियमसहितका मुलुक पठाउने भनेर पैसा अशुल भएको छ । यी देशहरुमा जान लाग्ने लागतका आधारमा युवाहरुबाट पैसा दिनुपर्ने शर्तमा पहिलो चरणमा ४ लाखसम्म अशुल भएको छ ।

गत वर्षदेखि नै पैसा अशुलीको भन्दा चलाएका विक्रम बराइलीले युवाहरुबाट पैसा संकलन गर्ने काम नगदमै तथा बैंक खातामार्फत गरेका थिए । युवाहरुले एनआईसी एशिया, लक्ष्मी सनराइज, मुक्तिनाथ विकास बैंकलगायतका विभिन्न वित्तीय संस्थाको खातामा पैसा जम्मा गरिदिएका छन् । पैसा जम्मा गरिदिएको १० महिनासम्म पनि वैदेशिक रोजगारीमा नपठाउने र सम्पर्कमा समेत नआउने गर्न थालेपछि गत असार ८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दर्ता भएको छ ।

इटहरी शाखाका सहायक प्रवन्धक राजकुमार गजमेर र कर्मचारी लक्ष्मीप्रसाद नेपाल, अकाउन्टेन्ट अमित बराइली, काउन्सेलर गोपी कार्की, ट्रेनिङ इन्चार्ज मनिस बराइली, कम्प्युटर अपरेटर सुवास ताजपुरीया, रिसेप्सनिष्टद्वय निशा रसाइली र लक्ष्मी विक विरुद्ध सविन भट्टराईले उजुरी दिएका थिए । उनले झुटा आश्वासन दिएर युवाहरु ठगीको भन्दै ठगीमा संग्लग्न व्यक्तिहरुमाथि कारबाहीसहित पैसा फिर्ताको माग गरेका छन ।

जिल्ला प्रशासनबाट आफूहरुको माग सम्बोधन नभएको र ठगी गर्ने समूहको धन्दा नरोकिएकिपछि इटहरी शाखाबाट ठगीएका भट्टराईसहितका मिथलेश गोश्वामी र अनिल पौडेलले १२ असारमा वैदेशिक रोजगारी विभागमा आफूहरु उजुरी दिएका छन । उनीहरुले तीन जनाबाट ठगीएको ७ लाख र सो वापतको हर्जाजनासहितको साढे १० लाख रुपैयाँ फिर्ताको गरिदिन र ठगीमा संग्लग्न अमित बराइली, राजकुमार गजमेरसहितलाई कारवाही गर्न माग गरेका छन ।

इटुडब्लुका नाममा भएको ठगीको विषयमा सप्तरीका रोशनकुमार पोखरेलले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि लक्ष्मीप्रसाद नेपालले अमति बराइलीसँग मिलेर १ लाख रुपैयाँ ठगी गरेको भन्दै ठगीविरुद्ध उजुरी दिएका छन । नेपाल विराटनगरका बासिन्दा भएकोले र इटुडब्लुमा अमितसँगको मिलेमतोमा ठगी गर्ने व्यक्ति भन्दै मोरङ जिल्ला प्रशासनमा गत असार ६ गते ठगी विरुद्ध उजुरी दर्ता भएको छ ।

कतारका केन्द्रीय कार्यालय राखेर नेपालमा ठगी धन्दा फैलाउने इटुडब्लुको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल शर्मा हुन । उनले कतारमा बसेर विभिन्न २१ वटा देशमा २५ शाखा खोलेर ठगी धन्दा फैलाइरहेको आरोप पनि पीडित युवाहरुले बताएका छन् ।

इटुुडब्लुबाट ठगिएका एक युवा मिथलेश गोश्वामीका अनुसार ठगीमा ठूलै गिरोह लागेको र कसैलाई पनि विदेश पठाइएको छैन । युरोपका विभिन्न देशमा जान ३५ लाख रुपैयाँसम्म लागत लाग्ने भन्दै शुरुवातामा ५० हजार भन्दा बढी जति युवाले दिन्छन त्यति नै संकलन गरेको देखिएको छ । युवाहरुलाई प्रक्रिया अगाडि बढ्दै जाँदा चरणबद्ध रुपमा थप पैसा दिँदै जानुपर्ने शर्त राखेर ठगी धन्दा भएको समेत गोश्वामीले बताए ।

गोश्वामीसहितका ३ जना युवाले इटुडब्लुको नाममा भएको ठगीमा संग्लग्नलाई कारवाही गरेर आफूहरुको पैसा फिर्ता दिन माग गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत असार १० गते निवेदन दिएका छन । मन्त्रालयमा दिएको निवेदनमा मन्त्रालयले पीडित युवाहरुले न्याय पाउने वातावरण सिर्जना गरिदिन र मातहतका निकायमार्फत ठगीमा संग्लग्नलाई छिटो भन्दा छिटो कारवाही गरेर ३ सय जनाभन्दा बढी युवालाई न्याय दिन आग्रह गरिएको छ ।

इष्टवेष्ट नामको कन्सल्टेन्सीले युवाहरुलाई ठगी गरेको विषयमा वैदेशिक रोजगार विभागका महानिर्देशक आफैंले छिटोभन्दा छिटो ठगीमा संग्लग्नहरुलाई कानूनी दायरामा ल्याएर कारवाही सहित पैसा फिर्ताको लागि आवश्यक सहजीकरण गरिरहेका छन । यो विषयमा मन्त्रालयले समेत चासो देखाएकोले ठगीएको युवाहरुलाई न्याय दिने र ठगीमा संग्लग्नहरुलाई कारवाही गर्ने विषयमा विभागले आवश्यक अनुसन्धान थालिसकेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।

राजेश हमालले उद्घाट गरिदिएका कारण धेरै युवा फसे
नायक राजेश हमालले यसको इटहरी शाखा उद्घाटन गरेका कारण युवाहरुले विश्वास बढी गरेको पाइएको छ । सेलिब्रेटीले सत्य तथ्य नबुझी उद्घाटन गरेका कारण ठगी गर्ने गिरोहलाई राजेश हमाल देखाएर ठगी गर्न थप सहज भएको देखिएको छ । युवाहरुले पनि राजेश हमालले उद्घाटन गरेको कार्यक्रम भन्दै गिरोहले मागे अनुसार पैसा दिइहालेको देखिन्छ ।

श्रम मन्त्री डीपी आर्यालका सञ्चार संयोजक मुना कुँवर युवाहरुले विश्वास गर्नुको कारण सेलीब्रेटीसँग तामझाम नै भएको बताएकी छिन । उनका अनुसार यो विषयमा मन्त्रालयमा पनि पिडीत युवाहरुबाट उजुरी आएको छ । यो विषयमा मातहतको निकायबाट आवश्यक अनुसन्धानसहितका कारवाही अगाडि बढिरहेको छ ।

कन्सल्टेन्सीले म्यानपावरको काम गरेकोले म्यानपावर बाहेकलाई वैदेशिक रोजगार विभागले हेर्ने कार्यक्षेत्र नभएपनि उजुरी परेको र ठूलो संख्यामा युवा ठगिएकोले आवश्यक छानविन विभागले गरिरहेको छ । ठगीको प्रकृृति भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हेर्नुपर्ने प्रकृतिको रहेको छ ।

यस्तो छ इटहरीबाट मात्रै ठगीएका युवाहरुकाे सूची


राजु बास्कोटा