कैलालीको सुप समावेशी विद्यालयलाई सिटिजन्स बैंकको सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको अत्तरियास्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ ।

यो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासीय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । बढ्दै गएको गर्मीका कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म न्यूनिकरण गर्ने मनासायले बैंकले विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको जनाएको छ ।

बैंकको यस कार्यबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहज हुने अपेक्षा राखेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्लिकमान्डु