सुनचाँदीको पर्याप्त आपूर्ति गर्न व्यवसायीहरुको माग



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सुनचाँदी गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्था गर्न माग गरे ।

उनले हाल नेपालमा सुन दैनिक २० किलो र चाँदी आयात ६० हजार डलरको सीमा रहेको बताए । सीमाका कारण नेपालको सुनचाँदी बजार नियन्त्रण भएको पनि उनको भनाइ थियो । कुनै व्यवसायको उद्योगले दैनिक एक किलो सुनको गरगहना उत्पादन गर्ने क्षमता राख्छ भने उसलाई पयन नम्बरको आधारमा एक किलो नै सुन पाउने र कसैले पाँच किलोको क्षमता राख्छ भने सोही बमोजिम र कसैलाई ५० ग्रामको आवश्यकता छ भने सोही बमोजिम सुन उपलब्ध हुनेगरी सुनको आपूर्ति खुला गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष बर्जाचार्यले आयात खुला गर्दा बैंकका साथै व्यवसायहरुलाई पनि आयात गर्न दिइ प्रतिष्पर्धात्मक रुपमा बजार चल्न दिनुपर्ने पनि बताएका थिए । आयात भएको सुन दुरुपयोग गर्न नदिनका लागि वितरण प्रणालीमा सहयोग गर्न महासंघ तयार रहेको उनको भनाइ थियो । सुनको भन्सार दरमा १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत गरिएपछि महंगो सुन झनै महंगो भएको उनले बताए ।

साथै २ प्रतिशत बिलासी कर लगाउँदा सुन चाँदीका गरगहनाले नेपालको धर्मसंस्कृति, पहिचान र देशको समृद्धिको सम्पत्ति र सुरक्षित वचतका रुपमा रहने क्षेत्रलाई विलासिताको क्षेत्रमा परिणत गर्दा झनै मार परेको जिकिर गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले बजेटमा सुन चाँदी व्यवसायीहरुलाई प्रोत्साहन गर्नेगरी नीति नआएको बताएकी थिइन् । उनले सुनचाँदी व्यवसायीहरु एक भएर अघि बढ्न जरुरी रहेको पनि बताइन् । सुनको भन्सार पाँच प्रतिशत वृद्धि गरेकोप्रति आपत्ति जनाउँदै युवा मात्रै नभइ व्यवसायीहरु पनि पलायन हुने स्थिति आएको उनको भनाइ थियो ।


क्लिकमान्डु