चितवनको क्रिकेट रंगशाला निर्माणका लागि निर्माण कम्पनी छानियो, कतिमा पायो ठेक्का ?



काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ ।

भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि गएको शुक्रबार आर्थिक प्रस्ताव खोलेको थियो । टेण्डर बिड गरेका १२ कम्पनीमध्ये हिमालयन कालिन्चोक बिबिआर जेभीले सबैभन्दा कम रकममा निर्माण गर्ने आर्थिक प्रस्ताव पेस गरेको थियो ।

महानगरपालिकाले रंगशाला निर्माणका लागि छनोट भएसँगै सात दिनको आशयपत्र जारी गरिएको छ ।

निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ ।

भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो ।

पहिलो चरणमा रंगशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुने जनाइएको थियो ।

यसअघि, वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला ठेक्का आह्वान भएसँगै निर्माण गर्ने निश्चित भएको थियो ।

रंगशालाको सबै काम पूरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।


क्लिकमान्डु