पहिलो पटक उपत्यका बाहिर धान दिवस मनाइँदै, देशभर ९.८ प्रतिशत धान रोपाइँ सम्पन्‍न



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलो पटक उपत्यका बाहिर राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ ।

मन्त्रालयले यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१ औं राष्ट्रिय धान दिवस चितवनमा आयोजना गरेको छ । आगामी शनिबार चितवनमा यो दिवस भव्यताका साथ मनाउन लागिएको विभागीय मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।

उनका अनुसार चितवनको बछौंलीमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवी लामिछानेसहित अन्य मन्त्रीहरु पनि सहभागी हुने कार्यक्रम छ । ‘सधैँ उपत्यकाको खेत र गमलामा धानको विरुवा रोपेर परम्परागत रुपमा मनाइने परम्परा यस वर्ष चितवनमा मनाउने निर्णय गरेका छौं,’ उनले भनिन् ।

धान दिवसको पूर्वसन्ध्या (शुक्रबार) मा नेपाल कृषि अनुसन्धान परिषद(नार्क) मा राष्ट्रिय योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यहरुको आतिथ्यमा इन्टरनेसनल राइस रिसर्च इन्सिच्युट(इरी) र बीआरआरआईको प्रतिनिधित्व हुने गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कृषि विभागका महानिर्देशक डा.नरहरिप्रसाद घिमिरेका अनुसार यो वर्षको असार १२ गतेसम्ममा देशभर गरी ९.८ प्रतिशतका दरले १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा धानको रोपाइँ भएको छ । गत वर्षको असार १० सम्ममा ८.७५ प्रतिशतको हाराहारीमा धानको रोपाइँ भएको थियो । नेपालमा धान रोपाइँ हुने कूल क्षेत्रफल १३ लाख ९८ हजार ८ सय ३६ हेक्टर छ ।

सरकारी तथ्यांक अनुसार कोशी प्रदेशमा ५.६ प्रतिशतका दरले १५ हजार ३ सय ६०, मधेश प्रदेशमा २.९ प्रतिशतका दरले ११ हजार ४०, बाग्मती प्रदेशमा १८.३ प्रतिशतका दरले २० हजार ५ सय ५०, गण्डकी प्रदेशमा ८.३ प्रतिशतका दरले ८ हजार २ सय ४७, लुम्बिनी प्रदेशमा ८.८ प्रतिशतका दरले २७ हजार ५ सय ७०, कर्णाली प्रदेशमा २३.९ प्रतिशतका दरले १० हजार १०, सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशतका दरले ४३ हजार ६ सय ३४ हेक्टर क्षेत्रफलमा धानको रोपाई सम्पन्न भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरबाट ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

गत जेठ मसान्तसम्म धानको बीउ ८८ करोड ६५ लाख २१ हजार रुपैयाँबराबरको २१ लाख ७ हजार २ सय ३३ किलो धानको बीउ, ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँबराबरको ३० करोड ५३ लाख १० हजार ५ सय २० किलो, ८ अर्ब ६९ करोड ६ सय ८५ रुपैयाँबराबरको ८ करोड २७ लाख ६९ हजार ९ सय ८९ किलो चामल र ९ लाख २० हजार रुपैयाँबराबरको २१ हजार १ सय २४ किलो कनिका आयात भएको विभागले जनाएको छ ।


क्लिकमान्डु