२५ हजार जरिवाना तिरेपछि क्याप्टेन विजय लामाको कारवाही फुकुवा, अब नियमित जहाज उडाउन पाउने



काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामामाथिको कारवाही फुकुवा भएको छ । लामालाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन तथा नियमावली विपरीत काम गर्दा हुनसक्ने २५ हजार रुपैयाँ जरिवाना लिएर कारवाही फुकुवा गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

लामालाई प्राधिकरणले तीन साता अगाडि जहाज उडाउनबाट रोक लगाएको (ग्राउण्डेड गरेको) थियो । प्राधिकरणले लामालाई सचेत गराउँदै अब गल्ती नदोहोर्‍याउने शर्तमा उनीमाथिको कारवाही फुकुवा गरेको हो । लामालाई प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्डयन नियमको उलंघन गरेको भन्दै २१ जेठमा अर्को सूचना भएसम्मको लागि जहाज उडानमा रोक लगाएको थियो ।

लामा निगको वाइडबडी जहाज उडाउने पाइलट हुन् । उनले विमानस्थलमा उड्डयन नियम विपरीतको गतिविधि गरेको भन्दै प्राधिकरणले जहाज उडाउन रोक लगाएको थियो । प्राधिरकरणले लामालाई रिलिज गरेकोले अब नियमित जहाज उडाउन पाउने भएका छन् ।


क्लिकमान्डु