ईभीमा थपियो अर्को प्रतिस्पर्धी, गोल्छाले भन्दा लक्ष्मीले ३ हजार सस्तो बेच्ने



काठमाडौं । नेपाली अटो बजारमा अर्को ईभी ब्रान्ड थपिएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ईमोबिलिटी र गोल्छा अर्गनाइजेसनअन्तर्गतको जीओ अटोमोबाइल्स दुवै आधिकारिक विक्रेता रहने गरी चिनियाँ ब्रान्ड केई नेपाल प्रवेश गरेको हो ।

हाल केईको एक्सथ्री प्रो ईभी बजारमा उपलब्ध हुनेछ ।

जीओ अटो र लक्ष्मी ईमोबिलिटी दुवैले बिहीबार बुकिङ खुला गरेका छन् । अफर मुल्यअनुसार लक्ष्मीले ३ हजार रूपैयाँ सस्तोमा कार उपलब्ध गराउने बताएको छ ।

लक्ष्मीले डिलक्सको मूल्य ४६ लाख ९६ हजार रूपैयाँ तोक्दा जीओले ४६ लाख ९९ हजार रूपैयाँमा दिनेछ । यस्तै यो कारको फ्ल्यागसिप भेरियन्टको मूल्य जीओले ४८ लाख ९९ हजार र लक्ष्मीले ३ हजार सस्तो कायम गरेको छ ।

केई चिनियाँ कार उत्पादक चेरी कम्पनीले उत्पादन गरेको प्रिमियम कार हो ।

कटिङ एज टेक्नोलोजी, स्लिक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स–३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने विश्वास गरिएको छ । कारमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

चिनियाँ जाँचअनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ । यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ । साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

वातावरण मैत्री इलेक्ट्रीक एसयूभीको पर्फमेन्ससँगै स्लीक डिजाइन र मोर्डन फिचरहरु रहेका छन् । केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेसन क्लस्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ ।

चालकलाई पृथक ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स–३ प्रो सुरक्षाको हिसावले पनि उत्कृष्ट छ । एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । एडास भित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, ईबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको छ ।

यीवीन केई अटोमोवाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको लगानीमा स्थापना भएको हो । सन् २०१४ मा स्थापना भएको केई अटोमोवाइलसँग आफ्नै आरएन्डडी र मुख्य टेक्नोलोजी रहेको छ । कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ । पेट्रोलियम इन्जिन र ईभी दुबैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन् । यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ ।


क्लिकमान्डु