रुसी सेनामा कार्यरत नेपाली युवाको मृत्यु



तनहुँ । अवैध रुपमा रुस पुगेर त्यहाँको सेनामा भर्ना भएका नेपाली युवकको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा स्थायी घर भएका रन्जित गुरुङको मृत्यु भएको उनका साथीभाइ र परिवारजनले जानकारी गराएका छन् ।

सात महिनाअघि रुसी सेनामा भर्ना भएका रन्जितको केही दिन अगाडि नै मृत्यु भएको थियो । रुसी सेनामै रहेका रन्जितका साथीले परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।

“सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो,” प्रधानाध्यापक गुरुङले भने ।

रन्जितका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्”, सूर्यमानसिंह गुरुङले भने । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिएका छन् । उनले भने, “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।”

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “मेरो वडाले एक होनहार युवा गुमाएको छ ।” रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना युवाहरु परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।

२ वर्षदेखि युक्रेनसँग युद्ध गरिरहेको रुसी सेनामा नेपाली युवाहरु अवैध रुपमा सामेल भएर लडिरहेका छन् । यद्यपि नेपाल सरकारले यसरी रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएको छ । यसबीचमा रुसी सेनामा सयौं नेपाली युवाहरु भर्ना भइसकेका छन् । तीमध्ये दर्जनौं नेपालीहरु सम्पर्कविहीन छन् भने केहीको मृत्यु भइसकेको छ ।

मृतक र बेपत्ताका परिवारजनले पटकपटक आन्दोलन गरे पनि सरकारले मृतकको शव नेपाल ल्याउन सकिरहेको छैन । बेपत्ताहरुको अवस्थाबारे पनि आधिकारीक जानकारी दिन सकेको छैन । मृत्यु भएकामध्ये केहीको दाहसंस्कार रुसमै गरिएको पनि बताइएको छ । प्रतिबन्धका बावजुद रुसी सेनामा कति नेपाली भर्ना भएका छन् भन्नेबारे नेपाल सरकारले यकिन तथ्यांक समेत सार्वजनिक गर्न सकेको छैन ।


क्लिकमान्डु