म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । उनले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन आग्रह गरे ।

गगन थापाले यसो भने

यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमोल, माओवादी, घण्टी, बण्टी, जो-जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ ।

धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तिमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यि कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ । त्यस्तो तागत भएको पार्टी नेपाली कांग्रेसलाई बनाउनु पर्छ ।

यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरुकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ ।


क्लिकमान्डु