मोरङमा बाढीले बगाएर एकको मृत्यु, दुई बेपत्ता



सुनसरी । देशको पूर्वी क्षेत्रमा परेको भारी वर्षासँगै सुनसरीको बुढी खोलाको सतहले सतर्कताको तह नाघेको छ । बाढी अझै बढ्ने क्रममा रहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझसम्म नै सतर्कता अपनाउन आसपासका बासिन्दाहरुलाई आग्रह गरेको छ ।

कोशी बेसिनको चतरा क्षेत्रमा पछिल्लो २४ घण्टामा १७३.२ मिलिमिटर वर्षा भएको तथ्यांक महाशाखाले राखेको छ । यस्तै झापाको अनारमनीविर्तास्थित कन्काइ नदीमा पनि पछिल्लो २४ घण्टामा १३९.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसैबीच मोरङको सुन्दरहैचा नगरपालिकास्थित बूढीखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । अरु दुई जना नदीमा हराइरहेका छन् । मंगलबार बुढी खोलामा अचानक आएको बाढीले माछा मारिरहेका चार जना महिलालाई बगाएको थियो ।

तीमध्ये दुई जनाको तत्कालै उद्धार भयो भने दुई हराइरहेका छन् । एक जनाको भने मृत्यु भएको छ । सुन्दरहरैचा-५ की २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको हो । सोही स्थानका ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी बेपत्ता छन् । जिल्ला प्रहरी सुनसरीको टोलीले उनीहरुको खोजी गरिरहेको छ ।

जेठको अन्तिम सातादेखि कोशी प्रदेशमा भित्रिएको मनसुन असार दोस्रो सातासम्म देशभर फैलिएको महाशाखाले जनाएको छ । मंगलबार भने देशका पूर्वी र अन्य क्षेत्रहरुमा वर्षा भइरहेको छ । पूर्वको इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर साथै गण्डकी प्रदेशका पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, पाल्पा आसपासका नदीहरु र आसपासमा सतर्कता अनपाउन महाशाखाले आग्रह गरेको छ ।


क्लिकमान्डु