राजस्वमा दबाब हुँदा अर्थतन्त्रमा चुनौती देखियो: अर्थसचिव मरासिनी



बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौं’

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले राजश्वमा दबाब परेका कारण अर्थतन्त्रमा चुनौती रहेको बताएका छन् । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेको भन्दै उनले चालु आर्थिक वर्षको अन्तिम असार महिनामा खर्च बढ्नुपर्ने अवस्थामा रहेको बताए ।

सचिव मरासिनीले भनेका छन्, ‘राजश्वमा दबाब परेको कारणले गर्दा पनि अर्थतन्त्रमा ब्याकलग छ । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेका छौ । रकम दुरुपयोग भन्ने अखबारहरुमा समाचार आउँछ अनि हामीलाई पनि केही काम गर्न लाग्दा कुन अखबारमा के लेखेको छ हर्नुपर्ने भएको छ ।’

तर बजेट जति छरपस्ट भए पनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरुमा दिने बताए । यससँगै अर्थसचिव मरासिनीले आर्थिक नीतिमा आवश्यक सुधार गरी बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन् । उनले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने बताए ।

अर्थमन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रुपमा सहजिकरण गरी बजारमा जाने वातावरण बनाउने बताए । साथै उक्त पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी नराख्ने मरासिनीले बताए ।

यस्तै सरकारले अहिलेसम्म पुँजीगत खर्च ४६ प्रतिशतभन्दा माथि गर्न नसकेको भन्दै मरासिनीले बजेट रकामान्तर र भुक्तानी दिने विषयमा अर्थमन्त्रालय पारदर्शी रहेको बताए । ‘चालु आर्थिक वर्षको अन्तिम असार महिनामा छौं । खर्च बढ्नु पर्ने बेला छ । हामीले हर्ने अहिले बजेट जति छरपस्ट भए पनि अन्तिममा खर्च हुँदैन । त्यसलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरवका आयोजनालाई तिर्ने हो । नयाँलाई हामी पनि दिँदैनौं । हामी पनि पारदर्शी छौं । पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने हो,’ सचिव मरासिनीले भने ।


क्लिकमान्डु