कोरियाको ईभी ब्याट्री प्लान्टमा आगलागी हुँदा १६ जनाको मृत्यु, ५ सम्पर्कविहीन



एजेन्सी । दक्षिण कोरियाको ह्वास्योङस्थित लिथियम ब्याट्री प्लान्टमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरु पाँच जना हराइरहेका छन् ।

कोरियाली अधिकारीहरुले फ्याक्ट्रीमा आगलागी भएको स्थानबाट १६ जना कामदारको शव निकालिएको बताएका छन् ।

घटनास्थल राजधानी सोलदेखि ४५ किलोमिटर दक्षिणतर्फ पर्छ । दक्षिण कोरियाली ब्याट्री निर्माता एरिसेलले सञ्चालन गर्दै आएको प्यान्टमा स्थानीय समय अनुसार सोमबार बिहान १०:३० बजे आगो लागेको थियो । जसलाई अपराह्न ३ बजे मात्रै नियन्त्रणमा लिइएको थियो ।

अग्नि नियन्त्रक किम जिन योङका अनुसार उक्त फ्याक्ट्रीमा आगो लागेको समयमा १ सयभन्दा धेरै कामदार कार्यरत थिए । फ्याक्ट्रीको गोदामभित्र केही ब्याट्री सेलमा विस्फोट हुँदा आगो लागेको अग्नि नियन्त्रक किमले जानकारी दिएका छन् ।

दक्षिण कोरियन राष्ट्रपति यून सुक योलको कार्यालयले घटनास्थलमा हराएका कामदारको खोजी तथा घाइतेको उद्धारका लागि उद्धार टोलीलाई तत्कालै खटाएको छ ।

लिथियम ब्याट्री सामान्यत:मोबाइल फोन, ल्यापटप र इलेक्ट्रिक भिहिकलमा प्रयोग गरिन्छ । दक्षिण कोरिया लिथियम ब्याट्रीको प्रमुख उत्पादक तथा निर्यातकर्ता देश हो । जसले एलजी इनर्जी सोलुसन, सामसुङ एसडीआई र एसके अन जस्ता शीर्ष उद्योगहरुलाई ब्याट्री उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु