वडाअध्यक्षहरुको गुनासो: बालेनको स्टाटसले निदाउन सकिएन !



काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाअध्यक्ष तथा नगरसभा सदस्यहरुले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा व्यक्तिगत रुपमा टिप्पणी गर्ने विषयलाई लिएर आपत्ति जनाएका छन् ।

मेयर शाहले दलका प्रतिनिधि तथा नगरसभा सदस्यहरुलाई इंगित गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर उनीहरुले आपत्ति जनाएका हुन् ।

महानगर ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुलीले आफूहरु पार्टीको चिह्नबाट चुनाव जितेर आएको भए पनि पार्टीको स्वार्थका लागि काम नगरेको बताए ।

व्यक्तिगत असहमति भए पनि कुराकानी गरेरै समाधान गर्न सकिने भन्दै उनले मेयर शाहलाई सामाजिक सञ्जालमा मानहानी हुने किसिमका टिप्पणी नगर्न आग्रह गरेका थिए ।

विशेषगरी नगरसभाको मिति तोक्ने विषयमा आफूहरुलाई इंगित गर्दै मेयर शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति पराजुलीले आपत्ति जनाए ।

‘के हामी मेयरसाबले भने जस्तै निरंकुश र तानाशाह बनेका हौं त ? २०४६ सालको जनआन्दोलनदेखि विभिन्न समयमा भएका निरंकुशताविरुद्ध लडेर आएका हौँ हामी । तर मेयरसाबले हामी तीन दलका प्रतिनिधिले मनोमानी गरेको आरोप लगाउनुभयो । यसप्रति दुख लागेको छ,’ वडाध्यक्ष पराजुलीले भनेका छन् । मेयर शाहका अभिव्यक्ति व्यक्तिगत टिप्पणी हुने भएकाले त्यसले मनमा चोट पुग्ने भन्दै यस्तो सच्याउन उनले आग्रह गरेका थिए ।

नगरसभा सदस्य पराजुलीले भनेका छन्, ‘हामी तीन दलबाट निर्वाचित प्रतिनिधि मिलेर सल्लाह गरेरै मेयर साबलाई मिति केही दिन सार्नका लागि अनुरोध मात्रै गरेका थियौं । तर यसरी अनुरोध गर्दा मात्रै कसरी तानाशाह भयौं ? ३० वर्षको पन्चायती कालरात्रीविरुद्ध त हामी लड्यौं । आफ्नै पार्टीभित्र त अराजक व्यवहार देखाउँछ भने नेतृत्व परिवर्तन गर्छौं । त्यसैले हामीमाथि अचानक मेयरसाबको टिप्पणी आउँदा दुख लागेको छ ।’ पराजुली नेकपा एमालेबाट निर्वाचित वडा नं ३२ का वडाध्यक्ष हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीको तर्फबाट निर्वाचित भएका काठमाडौं १५ का अध्यक्ष ईश्वरमान डंगोलले पनि मेयरको सामाजिक सञ्जालको स्टाटसप्रति आपत्ति जनाउँदै आफूले गल्ती नगरेको बताए । ‘मेयर साबले जे टिप्पणी गर्नुभयो त्यसले निद्रा नै लागेन मलाई । गल्ती नगरे पनि यसरी आरोप आउँदा सुत्न नै सकिनँ म । यदि अहिले भनिनँ भने डिप्रेसन होला कि भनेर अहिले भन्दैछु,’ वडाध्यक्ष डंगोलले भने ।

मेयर शाहले तीन दलका प्रतिनिधिलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति आफ्नो आपत्ति रहेको डंगोलले भनेका थिए । उनले भनेका छन्, ‘हामीले रातदिन नभनिकन काम गरेका थियौं । व्यक्तिगत कुरालाई त्यागेर छलफल गरेका थियौं । हामीले के बिगारेका थियौं ? के लेनदेन गर्‍यौं ? हामीले कहिल्यै लेनदेन गरेका छैनौं । बन्द कोठामा कुनै निर्णय गर्दैनौं । यदि गल्ती भए देखाइदिनु । मेयरसाबकै कुराले लेनदेनको आरोप आयो । मेयरसाबले नै भनिदिनुपर्‍यो कहाँ लेनदेन गरेका छौं।’

सोमबार राष्ट्रियसभा हलमा काठमाडौं महानगरपालिकाको नगरसभा चलिरहेको छ । जहाँ उपस्थित नगरसभा सदस्य तथा वडाध्यक्षहरुले सामाजिक सञ्जालमा मेयरले दिने गरेको व्यक्तिगत टिप्पणीलाई लिएर सच्याउन आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि जनप्रतिनिधिहरुले मेयर शाहको अपरिपक्वता तथा अव्यवहारिकतापूर्ण व्यवहारलाई लिएर सच्याउन आग्रह गरिरहेका छन् ।

यसअघि मेयर शाहले नै नगरसभाको मितिलाई लिएर तीन दलका नेताहरुले सबै प्रतिनिधिलाई अनिर्णयको बन्दी बनाएको आशयको टिप्पणी गरेका थिए । उक्त स्टाटस एमाले, कांग्रेस र एकीकृत समाजवादीका जनप्रतिनिधिप्रति लक्षित थियो । तिनै प्रतिनिधि तथा वडाध्यक्षले सोमबार मेयरको उक्त स्टाटसले आफूहरु बारे भ्रम पैदा भएको भन्दै यस्तो टिप्पणी सच्याउन आग्रह गरेका हुन् । जवकि उनीहरुले मेयरलाई अनुरोध गर्दै सहमतिकै आधारमा मिति सार्ने काम भएको थियो ।

वडा नं १५ का अध्यक्ष डंगोलले भने सामाजिक सञ्जालमा आफूहरुमाथि आउने गरेका टिप्पणीलाई लिएर पनि गुनासो गरेका थिए । उनले भने, ‘हामीमाथि कहिलेकाहीँ सस्ता टिप्पणी आउने गर्छन् । पार्टीको झोले । अनपढ भन्ने जस्ता टिप्पणी आउने गरेका छन् । तर म भन्न चाहन्छु । पहिलो कुरा सबै प्रतिनिधि त्यस्ता हुँदैनन् । अर्को कुरा के हामीलाई जनताले अनुमवदन गरिसकेपछि ल्याप्चे नै भए पनि स्विकार गर्नु पर्छ । कसैको व्यक्तिगत कुरालाई लिएर टिप्पणी गर्न पाइँदैन । यस्तो कुराले हामी दुखी छौं ।’

यससँगै नगरसभामा अधिकांश प्रतिनिधिले मेयर शाहको कार्यशैली र तरिकालाई लिएर टिप्पणी गरिरहेका छन् । यस्तै टुकुचा खोला खोल्ने विषयमा अदालतको फैसला पर्खनुपर्ने र ओभरहेड ब्रिज निर्माणको कुरालाई लिएर पनि उनीहरुले मेयर शाहलाई सुझाव दिएका छन् ।


क्लिकमान्डु