कहिले सकिन्छ नागढुंगा सुरुङमार्ग निर्माण ? आयोगले गर्‍यो अनुगमन



काठमाडौं । राष्ट्रिय योजना आयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । आइतबार आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा आयोजना स्थल पुगेर अनुगमन गरिएको हो ।

टोलीले आयोजनाको प्रगति, समस्या लगायतका विषयमा जानकारी लिएको छ । अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुयाललाई बिफ्रिङ गर्दै आयोजना निर्देशक रमेश कोइरालाले भौतिक प्रगति ७६ प्रतिशत भन्दा बढी र वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए ।

आयोजनाका लागि पछिल्लो समय १८ महिना थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने उनले बताए । यद्यपि, अनुगमनका क्रममा केही समस्याहरु भने देखिएका छन् । आयोगका सदस्य डा. फुयालका अनुसार केही कित्ताहरुको मुआब्जा बिवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने केही चुनौतीहरु रहेका छन् ।

‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या भएको रहेछ’ अनुगमन टोलीका संयोजक डा. फुयालले भने, ‘अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।’

माथि देखिएका समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा आयोजनाले सोच्नु पर्ने उनले बताए । माथिका समस्याहरु समाधान गर्न सकने सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको उनको निष्कर्श छ ।

अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरु समेत सहभागी रहेका थिए ।


क्लिकमान्डु