बालेनको बजेट समीक्षा: ३ क्षेत्रमा ‘शून्य’ खर्च, सबैभन्दा धेरै पूर्वाधारमा



काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट खर्चमा अनौठो तथ्य फेला परेको छ । महानगरले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको मध्ये जेठ मसान्तसम्म साढे ३६ प्रतिशतमात्र खर्च भएकामा ३ क्षेत्रमा एक रुपैयाँ पनि खर्च भएको छैन ।

महानगरका वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार आव २०८०/८१ का लागि जलस्रोत तथा सिंचाईंमा २ करोड रुपैयाँ विनियोजन गरिएकामा जेठ मसान्तसम्म (११ महिना सकिँदासम्म) एक रुपैयाँ पनि खर्च भएको छैन । यसैगरी भुमि व्यवस्थातर्फ ६ लाख रुपैयाँ र श्रम तथा रोजगारीतर्फ १० लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म खर्च शून्य छ ।

महानगरकी उपमेयर सुनिता डंगोलले चालु आवका लागि २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेकी थिइन् । तर, ११ महिना सकिँदासम्म ८ अर्ब ८० करोड ४३ लाख रुपैयाँमात्र खर्च भएको छ ।

क्षेत्रगत तर्फ सबैभन्दा बढी खर्च वित्तीय सुशासनतर्फ ७७ प्रतिशत, ऊर्जातर्फ ७० प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनतर्फ ६५ प्रतिशत खर्च भएको छ । यस अवधिमा क्षेत्रगततर्फ सबैभन्दा बढी पूर्वाधार विकासतर्फ ३ अर्ब ४८ करोड र सामाजिक विकासतर्फ २ अर्ब १० करोड खर्च भएको छ ।

यसैगरी खर्च कार्यालय सञ्चालन तथा प्रशासनतर्फ २ अर्ब २४ करोड रुपैयाँ खर्च भएको महानगरले जनाएको छ ।

११ महिनामा आर्थिक विकासतर्फ २१ करोड र सुशासनतर्फ ७६ करोड रुपैयाँ खर्च भएको छ ।

सबैभन्दा बढी खर्च भवन, आवास र सहरी विकासतर्फ २ अर्ब ३१ करोड खर्च हुँदा शिक्षामा १ अर्ब ३६ करोड खर्च भएको छ भने यातायात पूर्वाधारमा ७२ करोड खर्च भएको छ ।

यसैगरी, पर्यटनतर्फ १७ करोड, स्वास्थ्यतर्फ १९ करोड, भाषा–संस्कृतितर्फ १८ करोड, सामाजिक सुरक्षा र संरक्षणतर्फ १६ करोड, सम्पदा पूर्वाधारतर्फ ३० करोड, वातावरण र जलवायुतर्फ ३५ करोड, शासन प्रणालीततर्फ १३ करोड तथा लैंगिन समानता तथा सामाजिक समावेशीकरणतर्फ ११ करोड रुपैयाँ खर्च भएको छ ।


क्लिकमान्डु